भड्‌किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउँछ : कार्यबाहक नगर प्रमुख योगी

दाङ, १३ भदौ ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्‌किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गर्नु भएको छ ।

सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिले आज बिहिबार लमहीमा आयोजना गरेको आयोजना गरेको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै ‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा सबै क्रियाशील रहनु पर्ने आजको आवश्यकता हो’ उहाँले भन्नु भयो ।

उहाँले सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्न सबैमा आह्वान समेत गर्नुभएको छ ।

त्यसैगरी लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर केसीले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्नु सबैको दायित्व भएको बताउनु भयो । ‘हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्दछु’ केसीले भन्नु भयो ।


सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिले आयोजना गरेको तिज मेला तथा नृत्य प्रतियोगिता आज बिहिबार सम्पन्न भएको छ । प्रालिले आफ्नै हलमा कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा तीस वटा समुहको सहभागिता भएको थियो । जस मध्ये सनलाइट मोर्डन स्कुल लमही प्रथम, रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय द्वितीय र आदर्श नमूना माध्यामिक विद्यालय देउपुर तृतीय, गोरखा मोडेल सेकेण्डरी स्कुल र रातो डाँडा आमा समूहले सान्त्वना भएका थिए ।

सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालि संचालक समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रमको संचालन प्रालिका शेयर सदस्य रवीलाल आचार्यले गर्नु भएको थियो ।

मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरिएको यो कार्यक्रममा स्थानीय मौलिकतालाई प्राथमिकता दिइएको थियो । आगामी दिनमा पनि निरन्तर रहने आयोजकले जनाएको छ । कार्यक्रममा झन्डै पाँच सय दर्शकहरुको सहभागिता रहेको थियो ।