तुलसीपुरमा अपहरण गरेर बनजंगल डुलाउन पाँच जना विरुद्ध अभियोगपत्र दर्ता

दीपक बोहरा
तुलसीपुर, ३१ साउन ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, भगवतीटोला बस्ने १९ वर्षीय जीवन बी.के. लाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पाँच जनाविरुद्ध जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले शान्तिनगर गाउँपालिका वडा नं.५ स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं.६, राजापुर कोलोनी बस्ने नारायण प्रसाद श्रेष्ठ, तुलसीपुर–११ स्थायी घर भई हाल वडा नं. ५, रामनिवास बस्ने २२ वर्षीय हर्क बहादुर वली, म्याग्दी जिल्ला, धवलागिरी गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल तुलसीपुर–९, अटोभिलेज बस्ने १८ वर्षीय पदम बहादुर छन्त्याललाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नं.४ स्थायी ठेगाना भई हाल तुलसीपुर–२ बस्ने २१ वर्षीय प्रेम कुमार बुढामगर र तुलसीपुर–२, क्षेतिपुर बस्ने २० वर्षीय उत्तर कुमार कँवर क्षेत्रीलाई पनि विपक्षी बनाइएको छ, जो हाल फरार रहेका छन् । उनीहरु विरुद्ध शुक्रबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो ।


मिसिलका अनुसार, प्रतिवादीहरूले साउन ९ गते बेलुका करिब ५:४५ बजे पीडित जीवन बी.के. लाई रा ८ प ४८२९ र रा ८ प ४८०७ नम्बरका स्कुटरमा जबरजस्ती राखी तुलसीपुरका विभिन्न स्थान र जङ्गल क्षेत्रमा पुर्‍याएका थिए । त्यहाँ उनीहरूले पीडितलाई डर र धम्की देखाउँदै कुटपिट गरेको र केही समय शरीर बन्धक बनाएर राखेको पाइएको छ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ र २१२ बमोजिम अपहरण तथा शरीर बन्धकको कसुरमा कडा सजाय गर्न र पीडितलाई उचित क्षतिपूर्ति भराउन माग दाबी गरिएको छ । प्रहरीले घटनामा प्रयोग भएका सवारी साधन र सीसीटीभी फुटेजलाई मुख्य प्रमाणका रूपमा अदालतमा पेश गरेको छ ।