
तुलसीपुर, ६ फाल्गुन ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा सभाहल बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको सभाहल ८० लाखको लागतमा निर्माण हुने कलेज सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो ।
यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने सभाहलको लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गर्नुभएको छ । सो अवसरमा पोख्रेलले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।कुनै पनि कुरालाई सृजनात्मक ढँगले सोच्न सक्ने रुपान्तरणमुखी शिक्षाको आवश्यकता रहेको कुरामा पनि उहाँको जोड थियो । “आजको विद्यार्थीले पढाईसँगसँगै केही उद्यम पनि गर्न सक्ने गरी शिक्षालयहरुले व्यवस्थापन गर्नुपर्दछ ” संस्थापक मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सभाकी पूर्व सदस्य कोमल वलीले सभाहल निर्माणसँगै विद्यार्थीहरुलाई अन्तर्क्रिया र विभिन्न छलफल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजमा विस्तारै संरचनाहरु थपिदै गएसँगै दक्ष जनशक्ति उत्पादनमा पनि सहजता हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डे,भुमी आयोग दाङका अध्यक्ष हुकुम बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्चालक समिति उपाध्यक्ष स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए ।



लाइभदाङ । ६ फाल्गुन २०८१, मंगलवार २०:४६ बजे