
दाङ, २१ साउन ।
उच्च अदालत तुलसीपुरले एक नाबालिकामाथि भएको जबरजस्ती करणी मुद्दामा एक ब्यक्तीलाई १८ वर्ष कैद र ७ लाख जरिवाना सुनाएको छ । मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञ बहादुर राना मगरको संयुक्त इजलासले घोराही उपमहानगरपालिका वडा नं. १२, हापुर रातामाटे टोल निवासी ३६ वर्षीय गणेश प्रसाद चौधरीलाई उक्त अन्तिम फैशला सुनाएको हो ।
२०८१ वैशाख २० गते भएको उक्त घटनाको २ वर्ष पछि शुक्रबार उक्त अन्तिम फैसला सुनाईएको हो । चौधरीले घरमा एक्लै सुतिरहेकी १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । पीडितको उमेर वारदातको समयमा १३ वर्ष ७ महिना मात्र रहेकाले मुलुकी अपराध संहिता, २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भए पनि त्यसलाई कानूनतः जबरजस्ती करणी मानिन्छ । यो केशमा पनि जाहेरीवाली(आमा)ले बयान फेरेकी थिइन । यो करणी नभई लेनदेनका कारणले आफूले बलात्कारको मुद्दा हालेको बयान दिएकी थिइन ।
तर, उच्च अदालतले यस्तो बकपत्रलाई अस्वीकार गरिदिएको छ । अदालतले पीडितले घटनाको तत्कालै अनुसन्धान अधिकारी र चिकित्सक डा. गोपाल खनालसँग गरेको बयान तथा स्वास्थ्य परीक्षण रिपोर्टलाई बलियो प्रमाणको रूपमा लिदै उक्त फैसला गरेको हो । पीडित र साक्षीहरू अनुचित प्रभाव वा प्रलोभनमा परेर बयान फेर्दैमा अपराधीले उन्मुक्ति पाउन नसक्ने नजिरलाई अदालतले शिरोधार्य गरेको देखिन्छ ।



लाइभदाङ । २१ श्रावण २०८३, बिहीबार ०८:२९ बजे