
दाङ, ११ साउन।
नेकपा एमालेका अग्रणी नेता तथा दाङको कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।
बस्नेतले दाङमा कम्युनिष्ट आन्दोलन विस्तार तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनी नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष तथा हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य थिए। पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा उनले इमानदार, शालीन र समर्पित नेतृत्व प्रदान गरेका थिए।
उनको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा उनलाई सम्मान गरेका थिए।
तुलसीपुर ११ निवासी बस्नेतको निधनप्रति नेकपा एमाले दाङले गहिरो दुःख व्यक्त गरेको छ। जिल्ला अध्यक्ष शिवकुमार आचार्यले उनको निधनले दाङको कम्युनिष्ट आन्दोलन र नेकपा एमाले दाङलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
बस्नेतको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।



लाइभदाङ । ११ श्रावण २०८३, सोमबार ०७:३५ बजे