
दीपक बोहरा
तुलसीपुर, ७ साउन । दाङको तुलसीपुरमा डेंगी सचेतना अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाले यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत शुक्रबार सचेतनामुलक ¥यालीले तुलसीपुर बजार परिक्रमा गरिएको थियो ।
अभियान साउन, भदौ र असोजसम्म चल्ने डेँगी तथा किटजन्य रोगका फोकल पर्शन शिव प्रसाद तिवारीले बताए । उनका अनुसार अभियान अन्तर्गत डंगीका लार्भा खोज्ने र नष्ट गर्ने, विद्यालय स्तरमा सचेतना प्रदान गर्ने जस्ता कार्यक्रम हुनेछन् ।
नेपाल सरकारको राष्ट्रिय नीति अन्तर्गत पालिकाले यो अभियान थालेको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए ।
यसमा समुदाय सचेत हुनुपर्ने उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार समुदाय नै सचेत भएमा यसलाई न्यूनिकरण गर्न सकिने उनको भनाई थियो ।
के हो डेँगी ?
डेँगी एडिस जातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल ज्वरो हो। यो विशेषगरी दूषित वा थुप्रिएर रहेको पानीमा हुर्कने लामखुट्टेबाट फैलिन्छ।
१. डेँगी कसरी सर्छ?
– डेँगी भाइरसबाट संक्रमित एडिस जातिको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ।
– यो लामखुट्टेले प्रायः दिउँसो वा उज्यालो भएको समयमा (विशेषगरी बिहान र अस्ताउनुअघिको समयमा) टोक्छ।
– यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा छोएर वा हावाको माध्यमबाट सिधै सर्दैन।
२. डेँगीका मुख्य लक्षणहरू
– डेँगीको भाइरस शरीरमा प्रवेश गरेपछि साधारणतया ४ देखि १० दिनभित्र लक्षणहरू देखिन थाल्छन् ।
– एक्कासी १०४ डिग्रीसम्म तीव्र ज्वरो आउनु।
– टाउको दुखाई, आँखाको गेडी पछाडि दुख्नु, जोर्नी र मांसपेशीहरू कडासँग दुख्नु
– वाकवाकी लाग्नु वा बान्ता हुनु।
– अत्यधिक थकान र कमजोरी महसुस हुनु।
– छालामा रातो डाबर वा दागहरू आउनु।
जटिल वा गम्भीर अवस्थाका संकेतहरूः पेट अत्यधिक दुख्नु, लगातार बान्ता हुनु, नाक वा गिजाबाट रगत बग्नु, सास फेर्न गाह्रो हुनु वा अत्यधिक सुस्त हुनु। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको अस्पताल जानुपर्छ।
३. डेँगीबाट बच्ने उपायहरू
– डेँगीबाट बच्ने उत्तम उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेको वृद्धि रोक्नु हो ।
– पानी जम्न नदिने (खोजी र नष्ट गर अभियान)
– घर वरपर, गमला, टिनका डब्बा, पुराना टायर, ट्याङ्की आदिमा पानी थुप्रिन नदिने।
– पानी राख्ने भाँडाकुँडा सधैँ राम्ररी ढकेर राख्ने।
– कुलर वा गमलाको प्लेटमा जमेको पानी हप्तामा कम्तीमा एकपटक फेर्ने।
– लामखुट्टेको टोकाइबाट बच्ने
– दिउँसो पनि शरीर पूरै ढाक्ने (लामो बाहुला भएको) लुगा लगाउने।
– शरीरको खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्ने।
– दिउँसो वा राति सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने।
– ढोका र झ्यालहरूमा जाली लगाउने।
उपचार र सावधानी
– डेँगीको कुनै विशिष्ट एन्टिबायोटिक वा विशेष औषधि हुँदैन।
– प्रशस्त मात्रामा पानी, झोलिलो पदार्थ र जीवनजल पिउनुपर्छ।
– ज्वरो नियन्त्रण गर्न प्यारासिटामोल प्रयोग गर्न सकिन्छ, तर इबुप्रोफेन वा एस्पिरिन जस्ता औषधिहरू प्रयोग गर्नुहुँदैन (यसले रगत बग्ने जोखिम बढाउँछ)।



लाइभदाङ । ८ श्रावण २०८३, शुक्रबार २०:०३ बजे