
भालुवाङ, २६ असार ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लागुऔषध दुर्व्यसन, साइबर अपराध तथा सामाजिक विकृतिविरुद्ध परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ। राप्ती प्रेस मञ्चले शुक्रबार श्री माध्यमिक विद्यालय मौरीघाटमा आयोजना गरेको विद्यालयस्तरीय सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले पछिल्लो समय युवापुस्ता विभिन्न जोखिमपूर्ण गतिविधितर्फ आकर्षित भइरहेको उल्लेख गर्दै विद्यार्थी अवस्थादेखि नै सही शिक्षा, अनुशासन र चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समाजमा बढ्दो लागुऔषध प्रयोग, साइबर अपराध र सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक न्यायाधिवक्ता तेजप्रसाद पाण्डेले कानुनी साक्षरताबारे जानकारी गराउनुभएको थियो भने इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले लागुऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेमप्रसाद पोख्रेलले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन दृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक भूमिराज नेपालले दुर्व्यसनका असर तथा पुनर्स्थापनाका विषयमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध, साइबर अपराध, ट्राफिक नियम तथा बालविवाह न्यूनीकरणबारे सचेत बनाइएको थियो।



लाइभदाङ । २६ असार २०८३, शुक्रबार २१:०९ बजे