दङ्गीशरण–३ को नयाँ वडा कार्यालय भवन उद्घाटन

दङ्गीशरण, १८ असार ।
दाङको दङ्गीशरण गाउँपालिका–३ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। बिहीबार आयोजित भव्य औपचारिक समारोहका बीच गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले वडा कार्यालय स्थानीय सरकारको सबैभन्दा नजिकको सेवा केन्द्र भएकाले नागरिकलाई छिटो, सहज, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरिएको बताउनुभयो। उहाँले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष खड्काले नयाँ भवनबाट नागरिकले अझ छिटो, छरितो र सुविधायुक्त सेवा पाउने अपेक्षा व्यक्त गर्दै वडा कार्यालयलाई सेवामुखी ढङ्गले अघि बढ्न आग्रह गर्नुभयो। उहाँले भवन अपाङ्गतामैत्री ढाँचामा निर्माण भएकाले सबै प्रकारका सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने विश्वास पनि व्यक्त गर्नुभयो।


कार्यक्रमका अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले भवन निर्माणका लागि बजेट व्यवस्थापन, योजना निर्माण, प्राविधिक सहयोग तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले निर्माण व्यवसायी, प्राविधिक, कर्मचारी तथा स्थानीय बासिन्दाको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै अब भवन निर्माणमै सीमित नभई यसबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउनु वडा कार्यालयको प्रमुख दायित्व रहेको बताउनुभयो। साथै विकास निर्माणलाई गति दिने र सुशासनलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह सुरु हुन लागेकामा खुशी व्यक्त गर्दै यसले स्थानीय नागरिकलाई थप सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

भवन उद्घाटन समारोहका अवसरमा वडा नं. ३ कार्यालयले भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गाउँपालिकाका सब–इन्जिनियर कालुराम चौधरी तथा निर्माण कम्पनी ओसिस कन्स्ट्रक्सन, घोराही, दाङका प्रतिनिधि प्रकाश महतरालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको थियो। उद्घाटन कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष निरज बस्नेत सहित अन्य जनप्रतिनिधि,राजनैतिकदल,कर्मचारी,समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेकोथियो । कार्यक्रममा टेन्ट व्यवस्थापन तथा सम्मानपत्रको सौजन्य पूरण चौधरीले गर्नुभएको थियो।