
प्रिया स्मृती गजमेर
देउखुरी,५ असार ।
दाङ -लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले समाजमा अझै विद्यमान जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्य गर्न दलित समुदायका युवाहरू नै अग्रपंक्तिमा उभिनुपर्ने बताउनु भएको छ । दलित मानव अधिकार रक्षकहरूका लागि आयोजित समष्टिगत सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले दलित समुदायका युवाहरूले आफ्नो अधिकार, अवसर र पहिचानका लागि संगठित र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक रूपमा अझै विभिन्न प्रकारका विभेदका घटना देखिने गरेको उल्लेख गर्दै ती समस्याको अन्त्यका लागि चेतना, शिक्षा र नेतृत्व विकास आवश्यक रहेको बताउनु भयो । “समाज परिवर्तनको प्रमुख शक्ति युवा वर्ग हो । दलित समुदायका युवाहरू आफैं सचेत, संगठित र सक्षम भए मात्रै विभेदमुक्त समाज निर्माण गर्न सकिन्छ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।
उहाँले दलित समुदायले भोग्दै आएका ऐतिहासिक अन्याय र विभेदलाई अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो । लमही नगरपालिकाले सामाजिक न्याय, समानता र समावेशी विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले दलित समुदायको सशक्तीकरणका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।
नगर प्रमुख चौधरीले समाजमा रहेका कुरीति, अन्धविश्वास तथा विभेदजन्य व्यवहारविरुद्ध आवाज उठाउन युवाहरूलाई आग्रह गर्दै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा दलित समुदायको सहभागिता अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार अधिकार प्राप्तिका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भएकाले समुदायभित्र चेतना अभिवृद्धि र नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
लमही नगरपालिका अन्तर्गत सञ्चालित “जनतासँग मेयर” कार्यक्रम मार्फत आयोजना गरिएको उक्त कार्यक्रमलाई दलित सचेतना अभियान दाङले प्राविधिक सहयोग गरेको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा दलित मानव अधिकार रक्षकहरूको क्षमता विकास, मानव अधिकार संरक्षण, कानूनी सचेतना, सामाजिक सुरक्षा तथा समुदायस्तरमा देखिएका विभेदका घटनाहरूको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीले स्थानीय तह, नागरिक समाज र समुदायबीचको सहकार्यबाट मात्रै सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो । उहाँले दलित समुदायका युवाहरूलाई आफ्नो क्षमता विकासमा ध्यान दिन, शिक्षा र सीप आर्जनमा जोड दिन तथा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो ।
उहाँले दलित समुदायको समान सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका गतिविधिहरू अघि बढाइरहेको बताउँदै पछाडि पारिएका वर्ग र समुदायलाई मूलधारमा ल्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्न राज्यले भूमिका निर्बाह गर्नु पर्ने बताउनु भयो । दलित समुदायका युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सके समाजमा विद्यमान विभेदका जरा क्रमशः कमजोर बन्दै जाने अध्यक्ष नेपालीको विश्वास छ ।
नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा दलित सचेतना अभियान दाङकी उपाध्यक्ष सीता बुढा विकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सुमित्रा विकले गर्नुभएको थियो ।
लामो समयदेखि दलित अधिकार, सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत पूजा विकले तालिमको सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुहुनेछ । तालिममा लमही नगरपालिकाका विभिन्न वडाबाट करिब ३० जना दलित युवा तथा मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ ।
आयोजकका अनुसार तालिमले दलित समुदायका युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै मानव अधिकार संरक्षण र सामाजिक न्यायका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ । साथै समुदायमा हुने विभेद तथा अन्यायका घटनाविरुद्ध सचेतना फैलाउन र कानुनी उपचारका उपायबारे जानकारी प्रदान गर्न पनि कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।



लाइभदाङ । ५ असार २०८३, शुक्रबार १५:५२ बजे