दाङ र रोल्पामा खिचिएका दुई चलचित्र आजदेखि घोराहीमा प्रदर्शन हुने

तुलसीपुर,५ असार ।
दाङ र रोल्पाका स्थानीय परिवेश तथा कथावस्तुमा आधारित दुईवटा चलचित्रहरू आगामी असार ५ गतेदेखि दाङमा प्रदर्शन हुने भएका छन्। ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएका यी चलचित्रहरू घोराहीस्थित होटेल डोकोको माइक्रो सिनेमा हलमा स्क्रिनिङ गरिने भएको हो। चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक विशाल रोका मगरले उक्त जानकारी दिएका हुन्। निर्देशक मगरका अनुसार ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ नामक दुई चलचित्र आगामी असार १२ गतेसम्म प्रदर्शन हुनेछन्। दुवै चलचित्रको सो दैनिक बेलुकी ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिनेछ।

स्थानीय कला र कलाकारलाई प्राथमिकता मफसलमा सिनेमा संस्कृतिको विकास गर्ने र स्थानीय विषयवस्तुलाई उजागर गर्ने उद्देश्यका साथ स्थानीय स्रोत(साधनकै प्रयोग गरेर यी चलचित्र तयार पारिएको निर्देशक मगरले प्रष्ट पारे। साथै, आगामी दिनमा अभिनयमा रुचि राख्ने स्थानीय प्रतिभाहरूलाई समेत अवसर दिइने उनले बताए। कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालले सिनेमा मनोरञ्जनको साधन मात्र नभई समाजको भाषा, कला र संस्कृतिको ऐना भएको धारणा राखिन्। उनले स्थानीय कलाकार र परिवेशलाई समेटेर चलचित्र निर्माण हुनु खुसीको कुरा भएको बताइन्।


त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले रीतिरिवाज र संस्कारले मानिसलाई अनुशासनमा बाँध्ने उल्लेख गर्दै दाङको पृष्ठभूमिमा चलचित्र बन्नु र प्रदर्शन हुनुमा चलचित्र पत्रकार संघको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे। दर्शकलाई हलसम्म आउन आग्रह पत्रकार सम्मेलनमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, पत्रकारद्वय दीपक बोहरा र चेतन रेग्मी लगायतले चलचित्रको कथावस्तु र सुटिङ गरिएका स्थानहरूका बारेमा चासो राखेका थिए।

चलचित्रका कलाकारहरू उज्ज्वल अधिकारी र निशा घर्ती मगरले स्थानीय मौलिक कथामा बनेका यी चलचित्रहरू हेरेर साथ दिन दर्शकहरूलाई आग्रह गरे। संघका प्रमुख सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य रुपा थापाले गरेकी थिइन्।