दाङमा फरार रहेका १० प्रतिवादी पक्राउ

दाङ,२९ जेठ ।
दाङ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्दै आएको छ। सोही क्रममा २०८३ जेठ २१ गतेदेखि २८ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न स्थानबाट १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतबाट तोकिएको कुल ६ वर्ष २ दिन कैद सजाय तथा ९ हजार ३ सय रुपैयाँ जरिवाना बाँकी रहेको थियो।


पक्राउ गरिएका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्मानित दाङ जिल्ला अदालत, घोराहीमा बुझाइएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।