
दाङ,२२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा त्रिभुवननगर जेसीजले घोराही उपमहानगरपालिका–१८ स्थित गोरदौराको बायल्डाडा चौतारी क्लब परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
‘एक जेसीज सदस्य, एक बिरुवा’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममा गुलमोहर, धुपी, कपुर लगायतका ५६ वटा बिरुवा रोपिएको त्रिभुवननगर जेसीजका महासचिव जेसी चुडामणि पाण्डेय (बाबुराम)ले जानकारी दिनुभयो। यस वर्ष विश्व वातावरण दिवस “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने नाराका साथ नेपालसहित विश्वभर मनाइँदै छ।
त्रिभुवननगर जेसीज बर्ष २०२६ का शाखा अध्यक्ष मिनराज भाटको अध्यक्षता , कार्यक्रमका प्रमुख अतिथि अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सल्लाहकार बासुदेव रिजाल तथा विशिष्ट अतिथि बायल्डाडा चौतारी क्लबका अध्यक्ष नारायण भुषाल रहनुभएको थियो। अतिथिका रूपमा अम्बेबन उपभोक्ता समितिका अध्यक्ष श्रीधर भण्डारी र फोटो पत्रकार कुलदीप न्यौपानेको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि रिजालले त्रिभुवननगर जेसीजले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा उत्प्रेरणामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष मीनराज भाटले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संस्था सामाजिक कार्यमा सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक हरि भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। जेसीज आस्था पाठ ईभीपी मिनेश श्रेष्ठले गर्नुभएको कार्यक्रम सञ्चालन महासचिव बाबुराम पाण्डेयले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार २०:३९ बजे