गढवा–८ मुसिनाकामा डिप बोरिङ सफल, जेठभित्रै घरघरमा खानेपानी धारा सञ्चालन हुने

आलोक भावुक
गढवा,२१ जेठ ।
दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ अन्तर्गत मुसिनाकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि गरिएको डिप बोरिङ सफल भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटमार्फत सञ्चालन गरिएको डिप बोरिङ परीक्षण सफलतापूर्वक सम्पन्न भएको वडा नम्बर ८ का वडाध्यक्ष अब्दुल खालिक सिद्धिकी ले जानकारी दिनुभयो।

वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका मुसिनाका बासीका लागि यो परियोजना राहतको विषय बनेको छ। सफल परीक्षणपछि अब घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने तयारी तीव्र बनाइएको वडाध्यक्ष सिद्धिकीले बताउनुभयो।

“डिप बोरिङको परीक्षण सफल भएको छ। आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइरहेका छौं। जेठ महिनाभित्रै घरघरमा खानेपानीको धारा सञ्चालन गर्ने लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो। मुसिनाका क्षेत्रमा विशेष गरी गर्मीयाममा खानेपानीको समस्या गम्भीर रहने गरेको थियो। स्थानीयले टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता भोग्दै आएका थिए। डिप बोरिङ सफल भएसँगै अब स्थानीयवासीले सहज रूपमा स्वच्छ खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।


स्थानीय बासिन्दाले पनि खानेपानी समस्याको स्थायी समाधानतर्फ वडा कार्यालयले चालेको पहलप्रति खुशी व्यक्त गरेका छन्। परियोजना सम्पन्न भएपछि मुसिनाका क्षेत्रका नागरिकको दैनिक जीवन थप सहज बन्ने विश्वास गरिएको छ।