तुलसीपुरमा थारु भाषाको विद्यालय सञ्चालनको अनुमति

तुलसीपुर(दाङ),२० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले थारु भाषाको विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ दक्षिण कुररियामा थारु भाषाको विद्यालय सञ्चालनकालागि अनुमति प्रदान गरिएको हो ।

दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारु भाषामा पठन–पाठनकालागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो ।“दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो, तुलसीपुरमा पनि थारु समुदायको बाक्लो बसोबास छ”,उहाँले भन्नुभयो“त्यसैले हामीले अनुमति दिएका हौं ।”

मातृभाषिक आधारभूत विद्यालयलाई उक्त अनुमति प्रदान गरिएको हो । गुठीको रुपमा सञ्चालन गर्न दिने गरि अनुमति प्रदान गरिएको हो । स्थानीय रोहित चौधरीले तीन बर्ष अघि थारु भाषाको विद्यालय सञ्चालनको अनुमतिकालागि उपमहानगरपालिकामा माग गर्नुभएको थियो ।


सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७ औं कार्यपालिका बैठकले निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारु समुदायकालागि गुठी अन्तर्गत छुटै विद्यालय सञ्चालनमा छैन । उक्त विद्यालयलाई थारु भाषाबाट पढाउनकालागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक समेत उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनुभयो । सबै थारु समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासिय समेत बनाउन सकिने उहाँको भनाई छ । उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगर प्रमुख खड्काले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत थारु समुदायको बसोबास रहेको छ । जहाँ ३८ हजार तीनसय २५ जनसंख्या रहेको छ । तुलसीपुरमा सबै भन्दा बढि क्षेत्रीको ३५।३ प्रतिशत र त्यसपछि थारु समुदायको जनसंख्या रहेको छ । यघि विरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो । भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।