राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राय–सुझाव माग्यो

मसुरिया,८ जेठ ।
दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा नागरिक तथा सरोकारवाला निकायहरूसँग राय–सुझाव माग गरेको छ। गाउँपालिकाको समग्र विकास, समृद्धि र बृहत् हितलाई केन्द्रमा राखी नीति तथा कार्यक्रम निर्माण गर्न स्थानीय आवश्यकता र जनभावनालाई समेट्नुपर्ने भएकाले राय–सुझाव संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। विकास प्रक्रियालाई अझ बढी जनमुखी, व्यवहारिक तथा प्रभावकारी बनाउन नागरिकको सुझाव महत्वपूर्ण हुने विश्वास लिइएको छ।

गाउँपालिकाले क्षेत्रगत नीति, योजना तथा कार्यक्रमहरू तय गर्दा उपयोगी हुने खालका अमूल्य राय, सल्लाह तथा रचनात्मक सुझावहरू उपलब्ध गराउन सबै राप्तीवासी महानुभावहरूलाई आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले मिति २०८३ जेठ १५ गतेभित्र सम्बन्धित वडा कार्यालय, गाउँ कार्यपालिकाको कार्यालयमा प्रत्यक्ष रूपमा वा इमेलमार्फत सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ।


गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टद्वारा हस्ताक्षरित सूचनामा समावेशी विकास र जनताको चाहनाअनुसार नीति निर्माण गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ। नागरिकबाट प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रमलाई थप परिष्कृत गरी कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।