
दीपक बोहरा
दाङ, ७ जेठ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० बेडको स्वीकृत छ । २०६३ सालमा ५० वेडको स्वीकृत पाएको अस्पतालले त्यसपछि बेड तथा जनशक्ति थपको कुनै अनुमति पाएको छैन ।
तर, विरामीको चापलाई मध्येनजर गरि एकसय ४१ बेड सञ्चालनमा छ । यसलाई दुईसय बेडको बनाउने भनि अस्पतालले २०८० सालमै संगठन तथा व्यबस्थापन (ओएनएम) सर्वेक्षण पास गरिदिनकालागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय समक्ष पठायो ।
स्वास्थ्य मन्त्रालयले अर्थको सहमति पनि लिएर मन्त्रीपरिषद बैठककालागि मुख्यमन्त्री कार्यालय पठाएको थियो । तर, मुख्यमन्त्री कार्यालयमै अड्किएको फाईल अहिले प्रादेशिक अस्पतालमै फर्किएको छ ।“विरामीको चाप धेरै छ, हामीले शैया बढाएर पनि सेवा दिनु परेको छ”, अस्पताल प्रशासन स्रोतले भन्यो“तर, चार बर्षदेखि हाम्रो ओएमएन सर्वेमा प्रदेश सरकारले बेवास्ता ग¥यो ।” अहिले त्यो सर्वे नयाँ कार्यविधि आएको भन्दै अस्पतालमै फर्किएको छ । गएको फागुनै अस्पतालमा त्यो सर्वेको फाईल फिर्ता भएको हो । अब फेरि नयाँ फाईल तयार गरेर पठाउन भनि मन्त्रालयले भनेको छ ।
अस्पताललाई रेफर सेन्टरका रुपमा बदमामित गरिएको अबस्थामा सरकारले पनि ओएमएन पास गर्ने तर्फ कुनै ध्यान नदिदा अस्पताललाई निकै समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानले बताए ।“म पनि पद वहाल भएको भर्खरै हो”,उनले भने“तर, अहिले जनशक्तिको जे समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने कुरा मेरो जिम्मेवारीको कुरा हो, यसलाई मिलाउन तर्फ पूर्ण रुपमा लाग्छु ।”
दुइसय बेड बनाउने उक्त सर्वेमा पाँचसय १५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताब गरिएको थियो । जसमा विशिष्टिकृत सेवा समेत सुरु गर्ने गरि जनशक्ति माग गरिएको भएपनि त्यो फाईल मन्त्रालयले कहिल्यै यता र कहिल्यै उता बनाउदैमा ठिक्क भयो । स्रोतका अनुसार प्रदेश मुख्यमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबीचको जस कसले लिने भन्ने होडवाजी हुँदा ओएमएन सर्वेको काम रोकिएको हो । हाल अस्पतालमा ७४ जनाको दरबन्दी रहेको छ ।



लाइभदाङ । ७ जेष्ठ २०८३, बिहीबार १२:१८ बजे