लोकतन्त्रमा आलोचनात्मक चेतः सशक्त नागरिक र उत्तरदायी राज्यको आधार

आजाद खड्का
लोकतन्त्रको सामान्य बुझाइ चुनाव, सरकार गठन र सत्ताको परिवर्तनसम्म सीमित हुने गरेको छ । तर, वास्तविक अर्थमा लोकतन्त्र केवल शासन प्रणाली होइन; यो एउटा जीवन पद्धति हो, जसको केन्द्रमा सचेत, सक्रिय र आलोचनात्मक सोच राख्ने नागरिक हुन्छन्। जब नागरिकहरू प्रश्न गर्छन्, बहस गर्छन्, र सत्ता तथा समाजका गतिविधिहरूको समीक्षा गर्छन्, तब मात्र लोकतन्त्र सशक्त र जीवित रहन्छ। त्यसैले लोकतन्त्रको दिगोपनका लागि आलोचनात्मक चेत हरेक नागरिकमा विकास हुनु अपरिहार्य छ ।

आलोचनात्मक चेत भन्नाले अन्धविश्वास, प्रचार, र एकपक्षीय सूचनालाई बिना परीक्षण स्वीकार नगरी तिनको विश्लेषण गर्ने क्षमता बुझिन्छ । यस्तो चेत भएको नागरिकले सरकारका नीति, कार्यक्रम, र व्यवहारमाथि प्रश्न उठाउँछ, प्रमाण खोज्छ, र सत्यको पक्षमा उभिन्छ। लोकतन्त्रमा यस्तो चेत नहुँदा नागरिकहरू सजिलै भ्रमित हुन्छन्, प्रचारको शिकार बन्छन्, र अन्ततः लोकतन्त्र कमजोर हुन्छ । सबैभन्दा पहिलो,आलोचनात्मक चेतले सत्तालाई जवाफदेही बनाउँछ । जब नागरिकहरूले सरकारका निर्णयहरूलाई प्रश्न गर्छन्, तब शासक वर्गले आफूलाई सुधार्न बाध्य हुन्छ। उदाहरणका लागि, कुनै नीति जनहितविपरीत देखिएमा नागरिकले विरोध जनाउँछन्, बहस चलाउँछन्, र सरकारलाई पुनर्विचार गर्न दबाब दिन्छन्। यदि नागरिक मौन रहे भने सरकार निरंकुश बन्ने सम्भावना बढ्छ। त्यसैले आलोचना लोकतन्त्रको विरोध होइन, बरु यसको रक्षा गर्ने माध्यम हो ।

दोस्रो, आलोचनात्मक चेतले सही र गलत छुट्याउने क्षमता दिन्छ। आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल, मिडिया र विभिन्न माध्यमबाट असंख्य सूचना प्रवाह भइरहेका छन् । यिनमध्ये धेरै सूचनाहरू अपूर्ण, भ्रामक वा नियोजित प्रचार पनि हुन सक्छन्। यस्तो अवस्थामा आलोचनात्मक सोच नभएको नागरिक सजिलै भ्रममा पर्न सक्छ। तर, आलोचनात्मक चेत भएको नागरिकले सूचना कहाँबाट आयो, त्यसको उद्देश्य के हो, र त्यसको प्रभाव के हुन सक्छ भन्ने कुरा विश्लेषण गर्छ। यसले समाजमा सचेतना र सत्यप्रतिको प्रतिबद्धता बढाउँछ ।

तेस्रो, आलोचनात्मक चेतले नागरिक सहभागिता बढाउँछ। लोकतन्त्रमा नागरिकको भूमिका मतदानमा सीमित हुँदैन;उनीहरूले नीति निर्माण, कार्यान्वयन र मूल्याङ्कनमा समेत सहभागिता जनाउनुपर्छ। जब नागरिक सचेत हुन्छन्, तब उनीहरू स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका गतिविधिमा सक्रिय रूपमा सहभागी हुन्छन्। यसले शासन प्रक्रियालाई पारदर्शी, समावेशी र प्रभावकारी बनाउँछ । तर, हाम्रो समाजमा आलोचनात्मक चेत विकास हुन नसक्नुका विभिन्न कारणहरू छन्। पहिलो, शिक्षाप्रणाली अझै पनि चयतभ भिबचलष्लन (कण्ठस्थ गर्ने प्रणाली) मा आधारित छ, जहाँ विद्यार्थीलाई प्रश्न गर्नुभन्दा उत्तर याद गर्न सिकाइन्छ । यस्तो प्रणालीले विश्लेषणात्मक र सिर्जनात्मक सोच विकास गर्न सक्दैन ।


दोस्रो, राजनीतिक संस्कृतिमा आलोचनालाई प्रायः विरोध वा शत्रुताका रूपमा लिने प्रवृत्ति छ। जसले गर्दा आलोचना गर्नेहरूलाई निरुत्साहित गरिन्छ । तेस्रो, मिडिया र सूचना प्रणालीमा पनि कहिलेकाहीँ पक्षपात र अपारदर्शिता देखिन्छ, जसले नागरिकलाई सही सूचना पाउन कठिन बनाउँछ । यस अवस्थामा सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सरकारले आलोचनात्मक चेत विकास गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्छ। पहिलो, शिक्षामा सुधार आवश्यक छ । विद्यालय र विश्वविद्यालयमा विद्यार्थीलाई केवल जानकारी दिनु पर्याप्त हुँदैन; उनीहरूलाई प्रश्न गर्न, बहस गर्न, र स्वतन्त्र रूपमा सोच्न प्रेरित गर्नुपर्छ । पाठ्यक्रममा नागरिक शिक्षा, तर्कशक्ति, र विश्लेषणात्मक अभ्यासलाई प्राथमिकता    दिनुपर्छ ।

दोस्रो, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता अपरिहार्य छ। नागरिकले डर, दवाव वा दण्डको भय बिना आफ्नो विचार व्यक्त गर्न पाउनुपर्छ। यदि आलोचना गर्दा दण्डित हुने वातावरण बनाइयो भने नागरिक मौन हुन्छन्, र लोकतन्त्र कमजोर हुन्छ। त्यसैले अभिव्यक्ति स्वतन्त्रता केवल कानुनी अधिकार मात्र होइन, व्यवहारमा पनि सुनिश्चित हुनुपर्छ ।
तेस्रो, स्वतन्त्र र जिम्मेवार मिडियाको विकास आवश्यक छ। मिडिया लोकतन्त्रको चौथो अंगका रूपमा चिनिन्छ, जसले सरकार र समाजबीच सेतुको काम गर्छ। स्वतन्त्र मिडियाले सत्य सूचना प्रवाह गर्छ, अनियमितता उजागर गर्छ, र नागरिकलाई सचेत बनाउँछ । त्यसैले सरकारले मिडियामाथि नियन्त्रण होइन, संरक्षण र प्रोत्साहन दिनुपर्छ ।

चौथो, नागरिक शिक्षा कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । संविधान, नागरिक अधिकार, कर्तव्य, र शासन प्रणालीबारे जनतालाई जानकारी गराउनु राज्यको दायित्व हो। जब नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट ज्ञान हुन्छ, तब उनीहरू थप सक्रिय र जिम्मेवार बन्छन् । यसका साथै, नागरिक स्वयंको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । आलोचनात्मक चेत केवल सरकारले विकास गरिदिने कुरा होइन; यो प्रत्येक व्यक्तिले अभ्यासमार्फत विकास गर्नुपर्ने क्षमता हो । नागरिकले विभिन्न स्रोतबाट सूचना लिनुपर्छ, एकपक्षीय दृष्टिकोणबाट बच्नुपर्छ, र तथ्यमा आधारित निष्कर्ष निकाल्नुपर्छ । साथै, असहमतिलाई सम्मान गर्ने संस्कार पनि विकास गर्नुपर्छ। लोकतन्त्रमा सबैले एउटै विचार राख्नुपर्छ भन्ने होइन; फरक विचारहरूबीचको बहस नै यसको सुन्दरता हो। अन्ततः, लोकतन्त्रमा आलोचनात्मक चेत कुनै विकल्प होइन, आवश्यकता हो। यदि नागरिकहरू मौन, निष्क्रिय र अन्धविश्वासी भए भने लोकतन्त्र केवल नाम मात्रको रहन्छ । तर, जब नागरिकहरू सचेत, सक्रिय र आलोचनात्मक हुन्छन्, तब मात्र लोकतन्त्र सशक्त, पारदर्शी र उत्तरदायी बन्छ ।

यसैले, आलोचनालाई नकारात्मक रूपमा होइन, सकारात्मक ऊर्जा र सुधारको अवसरका रूपमा लिनुपर्छ। सरकार, मिडिया, शिक्षण संस्था र नागरिक सबैले मिलेर आलोचनात्मक चेत विकास गर्ने वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो। यही बाटोबाट मात्र सशक्त नागरिक, उत्तरदायी राज्य र समृद्ध लोकतन्त्रको निर्माण सम्भव हुन्छ ।