
तुलसीपुर,२१ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा ३ राम्रीमा भालुले बाख्रा आक्रमण गर्न थालेपछि किसान चिन्तित बनेका छन् । यही बर्षको माघदेखि अहिलेसम्म २६ वटा बाख्रालाई भालुले मारेको छ ।
ब्यबसायिक रुपमा पालन गरेका बाख्रा माथि आक्रमण गरेर भालुले मारिदिदा आफूहरु चिन्तित बनेको स्थानीय रविबहादुर बुढाले गुनासो गर्नुभयो ।“हाम्रो आम्दानीको स्रोत भनेको बाख्रा पालन हो”,उहाँले भन्नुभयो“तर, यसरी भालुले हामीले पालेका बाख्रा मारिदिदा हामीलाई समस्या बनाएको छ ।”
बाख्रा चराउन जंगलमा लगेको समयमा भालुले आक्रमण गरेर खसी, बाख्रा मार्ने गरेको छ । भालुले उहाँका आठ वटा, स्थानीय दीपक रानाका १० वटा, धने रानाको पाँच वटा र चन्द्रबहादुर सार्कीका तीन वटा बाख्रा मारिदिएको छ । यसरी बाख्रा आक्रमण गर्ने गरेपनि यसको समाधानकालागि सम्बन्धित निकायले कुनै ध्यान नदिएको उहाँको गुनासो छ । गाउँमा अधिकांस किसानले बाख्रा पालन गर्दै आएका छन् ।



लाइभदाङ । २१ बैशाख २०८३, सोमबार १८:४४ बजे