
दीपक बोहरा
दाङ,११ बैशाख ।
दाङ तुलसीपुर स्थित सञ्चार उद्यमी देविप्रसाद धिताल(हेमराज) हत्याकाण्डको फाइलमा प्रहरीले चासो देखाएको छ । हाल प्रहरी मुख्यालयले नै यो विषयमा गम्भीर भएर अध्ययन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलन भन्दा अघि नै यो फाईलको काम अघि बढाउन खोजिरहेको थियो । तर, आन्दोलन पछि यो कुरा सेलाएको हो । अहिले पुनः यो विषयमा चासो देखाइको छ ।“केन्द्रले अहिले पनि यो हत्याकाण्डमा चासो देखाएको छ”,स्रोतले भन्यो“हेडक्वाटर सचिबालयबाट पटक–पटक यो विषयमा बुझिएको छ ।” इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि यसलाई गम्भीरताकासाथ हेरेको छ । स्थायी सरकार बनेपछि परिवारले पनि यसको फाईल खोलेर दोषीमाथि कारवाहीको अपेक्षा गरेका छन् । विगतमा अस्थिर सरकार हुँदा पनि यस्ता फाईलहरु ओझेलमा परेको भन्दै अब भने नयाँ सरकारले यो विषयमा गम्भीर रुपमा लिने पीडित परिवारको अपेक्षा छ । हत्याको १६ बर्ष पुग्नै लाग्दा पनि अनुसन्धानले कुनै सार्थकता नपाउँदा परिवारमा थप पीडा बल्झिने गर्छ ।
प्रत्येक बर्ष धितालको स्मृतिमा कार्यक्रम आयोजना गर्दा परिवारको एउटै अपेक्षा छ‘ दोषी नउम्कियोस् ।’ तर, घटनाको यथार्त विवरण सार्वजनिक नगर्दा परिवारले घटनालाई अन्यत्रै मोड्ने चलखेल भएको हुन सक्ने पनि शंका गर्ने गरेका छन् । धितालको २०६७ साउन ६ गते हत्या गरिएको थियो । तत्कालिन अबस्थामा काँग्रेस महाधिवेशन प्रतिनिधिकालागि निर्वाचनको चहलपहल थियो । त्यही क्रममा धितालपनि चुनाबी दौडमै थिए । साविक उरहरी गाविसबाट महाधिवेशन प्रतिनिधिको चुनाबमा होमिने तयारी गरेका धितालको हत्या भएको थियो ।
यसरी भएको थियो हत्या
घटना ६ साउन २०६७ मा भएको हो । तत्कालिन अबस्था नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनले तातिएको थियो । निर्वाचनकै क्रममा सोही दिन बिहान खाना खाएर धिताल उरहरी गए । आफ्नो कार्यकर्ता कान्ताराम वलीलाई संगै लिएर मोटरसाइकलमा उरहरी गएका उनले दिनभर आफ्ना कार्यकर्तासंग भेटघाट गरे । जब बेलुकी पख भयो, उनी घर फर्किने तरखरमा थिए । साविक उरहरी ४ हाल तुलसीपुर १२ को हेमनगर जसपुर स्थित राप्ती लोकमार्गको छेउमै रहेको एक स्थानीयको घरमा गफ गरिरहेको अबस्थामा संगै गएका कान्तरामलाई कतैबाट फोन आयो । त्यो फोनमा कहाँ भनि उनको ‘लोकेशन’ सोधिएको थियो ।
त्यसपछि हेमराज घरबाट निस्किन खोजे । तर, सुर्ति खाने बाहानामा कान्तरामले अल्मल्याउन थाले । श्रीमति मन्जु कडेँलका अनुसार हेमराज मोटरसाईकल चढेर स्टार्ट गर्न पनि खोजे । तर, त्यो मोटरसाईकलको ‘प्लग’ समेत निकालिएको रहेछ, त्यसपछि उनको मोटरसाईकल स्टार्ट भएन । त्यही क्रममा आज्ञात समूह आएर उनीमाथि लखेटी–लखेटी गोली प्रहार भयो । गोली प्रहार भएपछि उनलाई उपचारकालागि तत्कालिन राप्ती अञ्चाल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गिरीको नेतृत्वमा बनेको थियो अनुसन्धान टोली
तत्कालिन अबस्थामा प्रहरीले कान्तरामलगायत ब्यक्तीलाई पक्राउ गरि अनुसन्धान पनि गरेको थियो । परिवार किरिया बसिरहेकै अबस्थामा ९० प्रतिशत अनुसन्धान भइरहेको भनि प्रहरीले बताएको थियो । तर, त्यो अनुसन्धानले अहिलेसम्म पनि पूर्णता पाएको छैन । प्रहरी स्रोतका अनुसार त्यो अनुसन्धानको रिपोर्ट नै अल्मल्याउने खालको छ । ‘अनुसन्धान नै गन्जागोल जस्तो छ’, स्रोतले भन्यो । धितालको हत्याबारे अनुसन्धान गर्न जिल्ला प्रहरीका तत्कालीन डीएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक विशेष अनुसन्धान टोली गठन भएको थियो ।
पटक–पटक केन्द्रबाट पनि उच्च प्रहरी अधिकारीहरू आएका थिए । तत्काल सीआईबीको टोली पनि घटनास्थल आएको थियो। घटनालगत्तै तत्कालीन एआईजी किरण गौतमको संयोजकत्वमा अनुसन्धान टोली पनि खटाएको थियो । तर केही प्रगति भएन । घटनाबारेको विस्तृत अनुसन्धान फाइल ब्युरोमा पठाएको र ब्युरोबाटै अनुसन्धान भइरहेको छ । २०७४ माघदेखि केन्द्रीय अनुसन्धान ब्युरोले फाइल लिएर अनुसन्धान गरिरहेको छ । धिताल तत्कालिन अबस्थामा रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष थिए । यातायात व्यवसायी र निर्माण व्यवसायी पनि थिए, भने नेपाली सेनालाई रासन आपूर्तिको काम पनि गर्थे । उनको धेरै ठाउँमा कारोबार भएकाले पनि घटनाको विषयमा अनुसन्धान गर्न कठीनाई भएको तत्कालिन अबस्थाका अनुसन्धान अधिकृतहरुले बताउने गरेका छन् ।
‘रेडिमेट’ जवाफमै वित्यो १६ बर्ष
प्रत्येक बर्ष साउन ६ गते देविप्रसाद धिताल‘हेमराज’ स्मृति प्रतिष्ठानले कार्यक्रम गर्छ । त्यहाँ सुरक्षा निकायका जिल्लाका प्रमुखहरुलाई बोलाईन्छ । त्यहाँ कुनै आशाका कुराहरु आउदैनन् । आउछन् त केवल‘रेडिमेट’ जवाफ मात्रै । सुरक्षा निकाय भन्छ‘अनुसन्धान भइरहेको छ ।’ आफन्त तथा शुभचिन्तकले भने घटना भएको केही दिन देखि नै यस्ता जवाफ सुन्न थालेको बताएका छन् । यो शक्ति केन्द्रको दवावले घटना ओझेलमा परेको हो की, भन्ने आफन्तले शंका ब्यक्त गर्न थालेका छन् ।



लाइभदाङ । ११ बैशाख २०८३, शुक्रबार ०६:१८ बजे