दाङबाट ७ जना लागुऔषध कारोबारमा संलग्न पक्राउ

दाङ,७ बैशाख ।
दाङ जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एकै दिन ७ जनालाई पक्राउ गरेको छ। प्रहरीले तुलसीपुर र घोराही क्षेत्रबाट ब्राउन सुगर र चरेशसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। बरामद लागुऔषधमध्ये ब्राउन सुगर र चरेशको उल्लेखनीय परिमाण फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  बैशाख ७ दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क क्षेत्रबाट शान्तीनगर गाउँपालिका–५ निवासी २९ वर्षीय उद्धव शाहलाई पक्राउ गरिएको हो। उनी लागुऔषध ब्राउन सुगर खरिद–बिक्रीमा संलग्न रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनको शरीर खानतलासी गर्दा लुकाइछिपाई राखिएको ९ वटा पुडिया फेला परेको थियो। ती पुडियाभित्र हल्का खैरो रंगको ब्राउन सुगरजस्तो पदार्थ रहेको र डिजिटल तराजुमा नाप्दा १ ग्राम ३५० मिलिग्राम तौल भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

यसैगरी सोही दिन तुलसीपुर–५ बसपार्क क्षेत्रमै अर्का दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका–८ निवासी २८ वर्षीय शुक्रबहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका–१२ निवासी २५ वर्षीय विजय सिंह रहेका छन्। उनीहरू लागुऔषध चरेश कारोबारमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट हरियो प्लास्टिक झोलाभित्र लुकाइछिपाई राखिएको कालो रंगको चरेशजस्तो पदार्थ बरामद गरिएको हो। उक्त पदार्थको तौल ८९५ ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।

त्यस्तै,  बैशाख ६ राति घोराही उपमहानगरपालिका–१८ खर्कट्टी टोलस्थित एक घरमा छापा मार्दा थप चार जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा प्रहरीले अनिता रोका मगरको घरमा छापा मार्दा लागुऔषध कारोबार भइरहेको भेटिएको जनाएको छ। पक्राउ पर्नेमा घरधनी अनिता रोका मगर, उनका श्रीमान ४४ वर्षीय नवीन कुमार रोका मगर, घोराही–नयाँबस्तीका ५० वर्षीय खड्कबहादुर पुन र सोही क्षेत्रकी ४३ वर्षीया कविता घर्ती रहेका छन्।


प्रहरीले घर तथा उनीहरूको शरीर खानतलासी गर्दा सुत्ने कोठाको भित्तामा लुकाइ राखिएको ४ पुडिया ब्राउन सुगरजस्तो पदार्थ फेला पारेको थियो। ती पदार्थको तौल २ ग्राम ८८० मिलिग्राम रहेको थियो। साथै, घरअगाडि पार्किङ गरिएको मोटरसाइकलभित्र थप लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलको भाइजरमा राखिएको झोलाभित्र २२ वटा पुडियामा ब्राउन सुगरजस्तो पदार्थ भेटिएको थियो। तीमध्ये एउटा ठूलो पुडियामा ३८ ग्राम २१० मिलिग्राम र बाँकी २१ साना पुडियामा १५ ग्राम ७१० मिलिग्राम पदार्थ फेला परेको थियो। यसरी जम्मा ५६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा प्रयोग गरिएको लु.प्र.०२–००२ प २३७१ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। जिल्लामा पछिल्लो समय लागुऔषध कारोबार नियन्त्रणका लागि निगरानी बढाइएको र विशेष सूचनाका आधारमा कारबाही तीव्र पारिएको प्रहरीको भनाइ छ।