
प्रिया स्मृती गजमेर
देउखुरी,४ बैशाख ।
‘लमही नगर निर्माण, महाअभियान’ अन्तर्गत लमही नगरपालिकाले केही महिनादेखि जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घर–घरमै पुगेर वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको छ । गत चैत महिनाबाट सुरु गरिएको उक्त अभियानले सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । लमही नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कमल अर्यालका अनुसार हालसम्म २७ जनालाई जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर वितरण गरिएको छ । उहाँका अनुसार वडा–वडामा पुगेर सेवा प्रदान गर्ने कार्य निरन्तर रूपमा भइरहेको छ ।
वडा नम्बर १ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ । वडा नम्बर ४ मा ४ जनाको जन्मदर्ता र २ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ५ मा १ जनाको जन्मदर्ता र २ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ ।
वडा नम्बर ६ मा पनि अभियान सुरु भइसकेको छ, जहाँ २ जनाको जन्मदर्ता र ४ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ७ मा २ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ । त्यसैगरी वडा नम्बर ८ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ९ मा १ जनासहित हालसम्म कुल २७ जनालाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
स्थानीय सरकारको उपस्थितिलाई जनताले प्रत्यक्ष रूपमा अनुभूति गरून् भन्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताउनु भयो । जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर वितरण गर्दा नागरिकले राज्यप्रतिको नजिकपन र सेवाप्रतिको विश्वास झनै बढेको अनुभूति गर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ ।
घरमै सरकारी सेवा प्राप्त गर्दा अभिभावकहरूले सहजता र सन्तुष्टिको अनुभव व्यक्त गरेका छन् । विगतमा सानो कामका लागि समेत कार्यालय धाउनुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले समय र खर्च दुबैको बचत भएको बताएका छन् । विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा व्यस्त परिवारका लागि यस्तो सेवा निकै प्रभावकारी बनेको उनीहरूको भनाइ छ ।
जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर उपलब्ध गराउने व्यवस्थाले सेवाग्राहीलाई ठूलो सहजता मिलेको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनुभएको छ । उहाँका अनुसार विशेषगरी दुःखद परिस्थितिमा रहेका परिवारका लागि मृत्यु दर्ता प्रमाणपत्र घरमै प्राप्त हुनु राज्यले नागरिकको पीडामा साथ दिएको अनुभूति गराउने महत्वपूर्ण पहल हो । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गराउनुका साथै समय, श्रम र खर्चको पनि बचत भएको उहाँले उल्लेख गर्नुभयो ।
नवजात शिशुको जन्मदर्ता प्रमाणपत्र घरमै प्राप्त गर्दा अभिभावकहरूमा निकै खुशी र गर्वको भावना झल्किएको आफुले पाएको लाम्ही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताउनु भयो । आफ्नै घरमा बसेर सहज रूपमा सरकारी सेवा प्राप्त गर्दा नागरिकले स्थानीय सरकारप्रति विश्वास र अपनत्व अझ बढेको अनुभूति गरेका छन, यस्तो सेवामुखी कार्यले स्थानीय सरकार नागरिककै नजिक छ भन्ने सन्देश प्रवाह गर्नुका साथै प्रभावकारी सेवा प्रवाहको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको समेत देखिन्छु- प्रमुख चौधरीले भन्नु भयो ।
यस प्रकारको सेवा वितरणले स्थानीय सरकारप्रतिको विश्वास अभिवृद्धि हुनुका साथै ‘सिंहदरबारको अधिकार गाउँमै’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको सेवा प्राप्तकर्ताहरूको भनाइ छ ।



लाइभदाङ । ४ बैशाख २०८३, शुक्रबार ०७:०३ बजे