सतबरियामा प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ३८१ जनाले लिए सेवा

देउखुरी,१९ चैत ।
लमही नगरपालिका–८ सतबरियामा प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ । शिविरबाट कुल ३८१ जनाले सेवा लिएका छन् ।

सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार सेवा लिनेहरूमा ५४ जना बालबालिका र ३२७ जना वयस्क रहेका छन् । शिविरमा वडा नं। ५ देखि ९ सम्मका स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल, नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।


शिविरको उद्घाटन गर्दै उपप्रमुख लक्ष्मी योगीले विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराइएकाले अधिकतम नगरबासीलाई लाभ लिन आग्रह गर्नुभयो । उहाँले वडा नं। १ देखि ९ सम्मका नागरिकलाई लक्षित गरी सहज पहुँच हुने स्थानमा शिविर आयोजना गरिएको बताउनुभयो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा। राजन महत, ग्यास्ट्रोलोजिस्ट डा। सुदीप रेग्मी र बालरोग विशेषज्ञ डा। दीपेन्द्र रायसहितको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । साथै अस्पतालका प्रबन्ध निर्देशक जनक सिंह र व्यवस्थापक हरि खत्रीको पनि सहभागिता रहेको थियो ।

शिविरअन्तर्गत पाठेघरको क्यान्सर स्क्रिनिङ, अल्ट्रासाउन्ड लगायत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कार्यक्रमको व्यवस्थापन लमही नगरपालिका स्वास्थ्य शाखाकी वरिष्ठ नर्सिङ निरीक्षक मिना भुसाल शर्माले गर्नुभएको थियो भने सञ्चालन ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो ।