विद्यालयको एउटा संस्कारः युकेजीबाट पास भएका विद्यार्थीलाई दिक्षित

तुलसीपुर,१८ चैत ।
स्नातक र स्नातकोत्तर पास गरेपछि विद्यार्थीहरु दिक्षित भएको हामी सबैले सुन्ने र देख्ने गरेका छौं । तर, युकेजी पास गरेपछि पनि विद्यार्थीहरुलाई दिक्षित गर्ने संस्कार विरलै सुन्ने गरिन्छ । कतिपयलाई त झन अनौठो पनि लाग्न सक्छ ।

दाङको तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकाडेमीले भने विगत देखि नै युकेजी पास गरेर कक्षा १ मा गएका विद्यार्थीहरुलाई दिक्षित गर्दै आएको छ । विद्यार्थीहरुलाई सकारात्मक उर्जा प्रदान गर्न प्रत्येक बर्ष यसरी विद्यार्थीहरुलाई दिक्षित गरिन्छ ।


प्रि–प्राइमेरी लेभलबाट प्राइमरी लेभलमा गएको अनुभूति दिलाउँदै हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गर्ने गरेको विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यसबर्ष पनि ८४ जना त्यस्ता विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । विद्यार्थीहरुलाई गाउन र टोपीले सजाउँदै प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक महेश न्यौपानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । युकेजी कक्षा शिक्षक जुनु चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रि–प्राइमरी लेभल कोअर्डिनेटर बालिका भण्डारीले गरेकी थिइन । त्यस अवसरमा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।