
देउखुरी चैत ११
लमहीमा एक राइस मिलबाट बरामद गरिएको अखाद्य चामल नष्ट गरिएको छ । चिलिसो लागेको, झुम्रा परेको तथा म्याद गुज्रिएको चामल प्रशोधन गरी बिक्रीका लागि तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको उक्त चामल नष्ट गरिएको हो ।
लमही नगरपालिका ५ सनलाइट चोकमा रहेको आरके सप्लायर्सले उपभोगका लागि अयोग्य चामल प्रशोधन गरिरहेको सूचनाका आधारमा लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही उद्योग वाणिज्य संघको संयुक्त टोलीले अनुगमनका क्रममा चामल बरामद गरेको थियो ।
बरामद गरिएको ‘सोना मन्सुली’ नामको चामलमा अत्यधिक घुन लागेको, कुहिएको तथा खान अयोग्य रहेको २५ किलो तौलका १ सय ११ बोरा चामल फेला परेको थियो । प्रति बोरा २ हजार रुपैयाँ मूल्य उल्लेख गरिएको उक्त चामल आज बुधबार नष्ट गरिएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ९ङ० बमोजिम कसुर प्रमाणित भएकाले दफा ३९ ९१० ९ख० अनुसार बिक्रेतालाई २ लाख रुपैयाँ जरिवाना गरिएको इलाका प्रशासन कार्यालय लमहीका निरीक्षण अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयो ।
अनुगमन टोलीमा दाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायब निरीक्षक युवराज चन्द, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपाने, देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशबराज पोख्रे, लाम्ही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शशिराम नेपाली लगायतको सहभागिता रहेको थिय। टोलीले आरके सप्लायर्सको गोदाम तथा सोही गोदामबाट चामल प्रशोधन भइरहेको राइस मिलको समेत अनुगमन गरेको जनाएको छ ।



लाइभदाङ । ११ चैत्र २०८२, बुधबार २०:०६ बजे