आज चैती छठ मनाइँदै

जनकपुर,१० चैत ।
जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधिअनुसार आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् समापन हुनेछ ।

जनकपुरधामको गंगासागर र अर्गजासरमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठका लागि गंगासागर र अर्गजासर दुलहीझैँ सजाइएको छ ।

चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग नलाग्ने जनविश्वास छ ।

चार दिनसम्म अत्यन्त नियम र निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खिर मात्र खाइन्छ । तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा स्नान गरी उभिएर अर्घ्य दिइन्छ ।


आज सूर्य अस्ताउनुभन्दा एक घण्टा अघिदेखि नै व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठेकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा, नरिवल लगायतका सामग्री प्रसादका रूपमा चढाइन्छ ।

व्रतालुहरू जागराम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ ।

कात्तिकमा मनाइने छठ पर्वजत्तिको उल्लेख्य संख्यामा चैती छठ पर्व मनाउने नभए पनि बर्सेनि यसको संख्या बढ्दै गएको छ ।