
प्रिया स्मृती गजमेर
देउखुरी,७ चैत ।
कारितास नेपालको आयोजनामा “स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा” सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न कार्यशाला सम्पन्न भएको छ ।
कारितास नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक जनक प्रसाद शर्माले तयार पारेको मस्यौदा प्रस्तुत गर्नु भएको थियो । कारितास नेपालले लमही नगरपालिकामा विपद लगायत कृषि र अन्य थुप्रै क्षेत्रमा सहकार्य गर्दै आएको छ । कार्यशालामा सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानीय सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यशालालाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपदमा सबैको सहकार्य आवश्यक हुने कुरा बताउनु भयो । यस्तो परिस्थितिमा राज्यले मात्र थेग्न सक्दैन, राज्यलाई जानकारी दिने, सघाउने, विकल्प देखाउने जस्ता कार्य गर्दा पनि विपदलाई टार्न सकिने उहाँको धारणा छ ।
लमही नगरपालिका विपदले जुनसुकै बेला पनि संकट निम्तिने क्षेत्र भएकोले विपदको समय सुरु भए संगै सबैलाई सचेत रहन पनि आग्रह गर्नु भएको छ । खासगरी चुरे पहाडको नजिकमा बसोबास गर्ने आगलागीको उच्चा जोखिममा रहेको र राप्ती नदि तटीय क्षेत्रमा बस्ने बाढीको चपेटामा पर्न सक्ने भएकोले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
लमही नगरपालिकामा वडा तहदेखि नगरपालिकासम्म गठित विपद न्यूनीकरण समितिहरुलाई पूर्व तयारिमा रहन पनि निर्देशन दिनु भएको छ । विपद व्यवस्थापन फोकल पर्सन तथा विपद शाखा प्रमुख गायत्री थापाले कार्यक्रमको सहजीकरण गर्दै सम्पूर्ण सत्रलाई प्रभावकारी, व्यवस्थित र सहभागितामूलक रूपमा सञ्चालन गर्नु भएको थियो ।



लाइभदाङ । ७ चैत्र २०८२, शनिबार ०९:२२ बजे