
आलोक भावुक
गढवा,६ चैत्र ।
जिल्ला सरकारी वकिल कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको सहकार्यमा “समुदायमा सरकारी वकील कार्यक्रम” शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख रत्नप्रकाश गिरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी प्रमुख अतिथ्य तथा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीले गढवा गाउँपालिकाको न्यायिक समितिले जटिल प्रकृतिका मुद्दासमेत मेलमिलापमार्फत सहजीकरण गर्दै आएको बताउनुभयो। पछिल्लो समय सम्बन्ध विच्छेद तथा जग्गासम्बन्धी विवादका मुद्दा बढ्दै गएको उल्लेख गर्दै उहांले अदालतबाट सदर भएका मुद्दा पुनः स्थानीय तहमा फर्किँदा थप चुनौती सिर्जना भएको धारणा राख्नुभयो। उहांलेले हप्तामा दुई दिन न्यायिक इजलास सञ्चालन गरी मेलमिलापमार्फत विवाद समाधान गर्ने गरिएको जानकारी दिनुभयो। साथै, घुम्ती इजलासमार्फत कानुनी सचेतना अभियान निरन्तर सञ्चालन भइरहेको बताउनुभयो।
वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले सरकारी वकिलप्रतिको जनविश्वास अझ सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। उहांले सरकारी वकिल न्याय प्रणालीको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै पीडितलाई न्याय दिलाउने, अपराध नियन्त्रण गर्ने र कानुनी शासन कायम गर्ने भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख गिरीले यस्ता कार्यक्रमले समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै सरकारी वकिलको भूमिका जनतामाझ स्पष्ट पार्न सहयोग पुग्ने बताउनुभयो। उहांले अपराधीलाई कानुनी दायरामा ल्याई न्याय दिलाउनु सरकारी वकिलको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, प्रेम विवाह लाई शरिर बन्धक, अपहरण मुद्दा किन चलाईयो भनेर जिज्ञाशा राख्नु भएको थियो भने चिन्ता प्रसाद पोखरेलले मेलमिलाप कर्ताको आवतजावत र पारिश्रमिकको बिषयमा प्रश्न राख्नु भएको थियो। त्यसैगरी महेश बुढाथोकीले वन कार्यालयले काठ सहितको ट्याक्टर समातेर ६ महिना सम्म गाडी सहित बिन सुनुवाई किन राखेको भनेर सोध्नु भएको थियो भने एक पछी अर्को विवाह गर्दा बच्चाहरुको जन्मदर्तामा देखा परेको समस्याको बारेमा चासो राख्नु भएको थियो। त्यसैगरी रेडियो साझा आवाज का स्टेशन म्यानेजर दुखहरण यादवले आफन्त वा घराएसीम विना कागजी प्रक्रिया बिनै आर्थिक लेनदेन गर्दा समस्या परे समाधान के होला भनेर प्रश्न गर्नु भएको थियो भने गढवा गौशालाकी कोषाध्यक्ष रुपा गिरी ले अनाथ बालबालिकालाई आफु अभिभावक बनेर जन्मदर्ता बनाए पछी अंस हकदाबी गर्न पाउछन् कि नाई भनेर प्रश्न गर्नु भएको थियो सम्पुर्ण जिज्ञाशा तथा प्रश्नको जवाफ सरकारी वकीलको कार्यालयले प्रमुख रत्न प्रकाश गिरीले दिनु भएको थियो।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष आले मगर, कार्यपालिका सदस्य चन्द्र केसी, न्यायिक समिति सदस्य रेखा थापा, वडा सदस्य कौशिला देवी विश्वकर्मा, विभिन्न शाखाका प्रमुख, प्रहरी कर्मचारी, पत्रकार, सामुदायिक मेलमिलापकर्ता लगायतको सहभागिता रहेको थियो।
सहभागीहरूले गढवा गाउँपालिकाले सञ्चालन गरेको घुम्ती न्यायिक इजलास कार्यक्रमलाई उदाहरणीय पहलका रूपमा प्रशंसा गर्नु भएको थियो।
कार्यक्रमको सहजीकरण सहायक जिल्ला न्यायाधिवक्ता कमल कोइरालाले गर्नुभएको थियो।



लाइभदाङ । ६ चैत्र २०८२, शुक्रबार १९:५० बजे