तुलसीपुरमा कहिले बन्छ ताइवानको जस्तो बसपार्क ?

तुलसीपुर
१८ माघ / तुलसीपुरका मेयर घनश्याम पाण्डेको एउटा चर्चित नारा हो– तुलसीपुर स्मार्टसिटी । उनले स्मार्टसिटी बनाउन बिभिन्न देशको उदाहरण दिन्थे । भन्थे‘मैले ताईवानको ताईपेई शहर हेरेँ, त्यस्तै बनाउछु ।’ किनकी उपमहानगरपालिकाको एउटा टोली लिएर मेयर पाण्डे २०७४ चैतमा ताइवान गएका थिए । त्यतिबेलै उनले स्मार्ट सिटीकालागि पूर्वाधार बनिरहेको बताईरहेका थिए ।

त्यो भन्ने एउटा आधार थियो–तुलसीपुर बसपार्क । किनकी उनी आउनु भन्दा पहिले देखि नै तुलसीपुर बसपार्क निर्माण सुरु भइसकेको थियो । त्यसलाई आधुनिक बनाएर आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा लिने उनको योजना थियो । तर, उनको त्यो योजना अधुरै रह्यो । उनको कार्यकालमा आधुनिक बसपार्क निर्माणले गति लिने देखिएन । किनकी अहिले उपमहानगरपालिका ऋणमा डुबेको छ । अब आधुनिक बसपार्क निर्माण सुरु गर्न प्रयाप्त आन्तरिक स्रोत उपमहानगरपालिकासंग छैन । सन २०१३ मै तुलसीपुर गुरुयोजना बनिसकेको र त्यही अनुसार अहिले पहिलो चरणको काम पूरा भइसकेको छ । तर, दोस्रो चरणको काम भने अझै सुरु हुन सकेको छैन ।

पहिलो चरणको काम पूरा भएको दुई बर्ष वितिसक्दा पनि काम सुरु हुन सकेको अबस्था नरहेको भन्दै यातायात व्यबसायीहरुले आपत्ति जनाउने गरेका छन् । ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य गर्ने भनि गुरुयोजना तयार भएको थियो । तर, उपमहानगरपालिकासंग प्रयाप्त बजेट भएन । त्यसैले बिभिन्न‘फेज’मा काम गर्ने गरि तयारी भयो । पहिलो चरणमा नगर बिकास समितिबाट ऋण लिएर साढे १० करोड लागतमा बसपार्क निर्माण गरियो । जतिबेला नगर बिकास कोषले ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा उक्त बजेट दिएपछि पहिलो चरणको काम भएको थियो । २०७४ सालमा तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्कको सिलन्यास गरेका थिए ।

उनले सिलन्यास गरेपछि बसपार्क निर्माणको काम अघि बढेको थियो । पहिलो चरणमा १ तलाको टर्मिनल भवन, ५२ वटा व्यापारिक सटर, सार्वजनिक शौचालय, सडक र सडक बत्ति निर्माण गरिएको थियो । त्यो कार्य २०७६ सालमै सकिएको हो । अब दोस्रो चरणको काम अघि बढाउनु पर्नेमा त्यसो हुन सकेको छैन । उपमहानगरपालिकाका ईञ्जिनियर पवन योगीका अनुसार सन २०१३ मा डीपीआर तयार भएकाले अब त्यही डीपीआर अनुसार काम गर्दा पनि बाँकी रहेको काम २४ करोडले नभ्याउने बताए ।‘समयमै काम भएन , २०१३ मा डीपीआर बनेको हो’,उनले भने‘अब त्यही डीपीआरमा काम गर्दा पनि २४ करोडले भ्याउने अबस्था छैन, महंगी बढेको छ ।’

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने वा ऋण खोज्ने विषयमा छलफल भइरहेकाले त्यो टुंगिएमा काम अघि बढ्ने तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले बताए ।‘पहिलो चरणको काम पूरा भयो, अब हामीले दोस्रो चरणको काम सुरु गर्नुपर्ने हुन्छ’,उनले भने‘त्यसकालागि हामीले उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने वा ऋण लिएर काम गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं, त्यो टुंगिएपछि काम सुरु हुन्छ ।’

अझै पनि टर्मिनल भवनलाई ३ तला बनाउनु पर्ने, सडक बक्तिहरु जडान गर्नुपर्ने, क्लब टावर, गार्डेन, कम्पलेक्स निर्माण गर्नुपर्ने, ढल निकास, पम्प ब्यबस्थापन,पार्किङ स्थानको व्यबस्थापनलगायतको काम बाँकी रहेको उनले बताए । ५ विघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण भएको हो ।

१० करोडको काम भयो, तर ३४ करोडको कर तिर्न बाध्य
यातायात ब्यबसायीहरुले भने पूरा संरचना निर्माण नगरेपछि डीपीआर अनुसार जे–जे संरचना बन्ने गरेका थिए, त्यही अनुसार नै आफूहरुबाट कर उठाएको बताएका छन् ।‘काम गर्नुपर्ने धेरै छ, पहिलो चरणमा केही कामहरु भएका छन्’,त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भने‘ तर, कर भने ३४ करोड बराबरका संरचना निर्माण भए बराबर लिने गरिएको छ, यसले यातायात ब्यबसायीहरुलाई निकै मारमा पारेको छ ।’


अहिले पार्किङ शूल्क पनि सुविधासम्पन्न बसपार्कले लिने बराबरको शूल्क लिने गरेको उनको गुनासो छ । अझै पनि पेट्रोलपम्प, क्यान्टिन,टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्यको जाँच गर्ने अबस्था, सीसी क्यामेरा, ग्रिन पार्क, बच्चाहरु राख्ने कक्ष, शौचालयलगायतको उचित ब्यबस्थापन हुन सकेको छैन । तर, पनि शूल्क भने महंगो लिने गरेको उनको गुनासो छ । अझै पनि स्मार्ट बसपार्क भनेर परिकल्पना गरिएअनुसार हुन नसकेको उनको भनाई छ ।

यस बर्षको बैशाखदेखि अहिलेसम्म निकासी करबाट ११ लाख संकलन गर्न सफल भएको तुलसीपुर उपमहानगरपालिका राजश्व प्रशासन शाखा प्रमुख भेषराज चन्दले बताए । उनका अनुसार ब्यापारिक सटरहरुबाट १२ लाख रुपैँया आर्थिक संकलन भएको छ ।

ठेक्का रद्द, अर्को ठेक्काकालागि आह्वान
यस अघि २०७६/०७७ मा बसपार्कमा राजश्व संकलनकालागि बुढाथोकी कन्ट्रक्सनलाई ठेक्का परेको थियो । पहिलो बर्ष कबुल गरेको राजश्व उपमहानगरपालिकालाई उक्त कम्पनीले बुझाएको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा भने उक्त कम्पनीले कोरोनाको कारण देखाउँदै राजश्व नबुझाएको र ठेक्का रद्द गरि पाउँ भनि निवेदन दिएपछि ठेक्का रद्द पनि गरिएको थियो । उपमहानगरपालिकाले उक्त ठेकेदार कम्पनीलाई कारवाही पनि गरेको थियो । पुनः बसपार्कमा राजश्व संकलनकालागि ठेक्का आह्वान गरेको छ ।

त्यसमा अहिले छलफल भइरहेको राजश्व प्रशासन शाखा प्रमुख चन्दले बताए । उनका अनुसार सबै भन्दा बढि कबुल त्यही बुढाथोकी कन्ट्रसनले नै गरेको भन्दै फेरी त्यही कम्पनीलाई दिने वा के गर्ने भन्ने विषयमा अब बस्ने कार्यापालिकाकालागि आफूहरुले सुझाब समेत पठाईसकेको उनको भनाई छ । त्यस्तै टर्मिनल भवनको एउटा सटरको १० हजार, एउटै सटरमा दुईवटा कम्पनीले लिएको सन्दर्भमा २० हजार, एउटाले दुईवटा सटर लिएको सन्दर्भमा १५ हजार भाडा लिने गरिएको चन्दले बताए ।

०५३ पछि पातुखोलामा सरेको थियो‘बसपार्क’
२०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालय भन्दा दक्षिणतिर रहेको पार्कमा तुलसीपुर बसपार्क थियो । त्यो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारामा स्थानान्तरण गरिएको थियो । त्यसको २१ बर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निकै कुरुप तथा धुलाम्मे र हिलाम्मे हुँदा त्यहाँका स्थानीयलाई निकै आजित बनाउथ्यो । आधुनिक बसपार्क निर्माणको काम सुरु गर्न माग गर्दै स्थानीयहरु पटक–पटक सम्बन्धित निकायमा पुगेर धर्ना दिने तथा आन्दोलन गर्ने गर्थे ।

फलस्वरुप २०७४ जेठ २९ गते तत्कालिन कार्यकारी अधिकृत टोपेन्द्र केसीले सिलन्यास गरेका हुन् । सोही अनुसार काम धमाधम अघि बढिरहेको थियो । निर्माणको जिम्मा शिबशक्ति कन्ट्रक्सनले लिएको थियो । साभारः अग्रिम साप्ताहिक

May be an image of outdoors and text