दाङ–३ : पुराना दाबी, नयाँ आकांक्षा र चौपक्षीय प्रतिस्पर्धा

दाङ क्षेत्र नं. ३ यसपटकको निर्वाचनमा केवल उम्मेदवारहरूको भिडन्त मात्र होइन, राजनीतिक धार र मतदाताको मनोविज्ञान परीक्षण हुने क्षेत्रका रूपमा उभिएको छ। परम्परागत रूपमा काँग्रेसको बलियो पकड मानिएको पश्चिम दाङमा अहिले चार प्रमुख शक्तिबीच कडा प्रतिस्पर्धा देखिनु बदलिँदो राजनीतिक यथार्थको संकेत हो । २०७९ को समानुपातिक मत परिणामले काँग्रेस र एमालेबीचको प्रतिस्पर्धा अत्यन्तै झिनो रहेको देखाएको छ। यता रास्वपा र नेपाली कम्युनिष्ट पार्टीले उल्लेख्य मत ल्याएर तेस्रो र चौथो शक्तिका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । यिनै मतले यसपटकको निर्वाचनलाई अनिश्चित र रोचक बनाएको छ ।
काँग्रेसका दीपक गिरी विकासका पुराना दाबी लिएर मैदानमा छन् । चारलेन सडक, सिंचाइ आयोजना र पूर्वाधार विस्तार उनका मुख्य एजेण्डा हुन् । तर, लामो राजनीतिक यात्रापछि पनि सीमित जितले मतदातामा उनको दाबी कत्तिको विश्वसनीय हुन्छ भन्ने प्रश्न उब्जिएको छ। नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की (राजेश) ले ‘आश्वासन होइन, परिणाम’ को नारासहित आफूलाई प्रस्तुत गरेका छन्। प्रदेशस्तरमा देखिएको काम र जनयुद्धकालीन पहिचान उनका बलिया आधार हुन् । नयाँ पार्टी संरचनाले कति मत तान्न सक्छ भन्ने भने खुला प्रश्न नै छ ।
एमालेका घनश्याम पाण्डे स्थानीय तहको अनुभव बोकेर संसद् छिर्न चाहन्छन् । नगर प्रमुखका रूपमा गरेका काम उनका लागि प्लस प्वाइन्ट हुन् । तर, स्थानीय उपलब्धि राष्ट्रिय राजनीतिमा कति प्रभावकारी बन्छ, त्यो मतदाताको निर्णयमा निर्भर रहनेछ ।
रास्वपाका कमल सुवेदी परिवर्तन र सुशासनको मुद्दा लिएर मैदानमा छन् । अघिल्लो निर्वाचनमा संगठनविनै आएको मतलाई अहिले संगठनसहित दोर्होयाउने उनको दाबी छ। पुराना दलप्रतिको जनआक्रोश र नयाँ अनुहारप्रतिको आकर्षण उनको प्रमुख बल हो । यस निर्वाचनमा निर्णायक भूमिका ‘न्यूट्रल’ र युवा मतदाताको देखिन्छ। जेनजी आन्दोलनपछि देखिएको असन्तोष, दलभित्रका अन्तरविरोध र डेलिभरीप्रतिको चासोले मतको धार जता बग्छ, नतिजा उतैतिर ढल्किनेछ ।
अन्ततः दाङ–३ को निर्वाचन उम्मेदवारका भाषणभन्दा पनि मतदाताको विवेक, विगतको मूल्याङ्कन र भविष्यको अपेक्षाबीचको छनोट हुनेछ। यो निर्वाचनले दाङ मात्र होइन, देशको समग्र राजनीतिक दिशाबारे पनि महवपूर्ण सन्देश दिनेछ । साभार : अग्रिम साप्ताहिक