सगरमाथा स्कुलको खेलकुद सप्ताह सुरु

तुलसीपुर, १६ माघ । तुल्सीपुर–९, बेलुवामा अवस्थित सगरमाथा स्कुलको खेलकूद सप्ताह सुरु भएको छ । विद्यार्थीहरूको शारीरिक सुदृढता, मानसिक विकास तथा अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यले सप्ताहको आयोजना गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेल विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले खेलकुद अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावनाको विद्यालयस्तरमै विकास गरिनु अत्यन्त आवश्यक रहेको बताए । उनले खेलकुद केवल जित–हारको विषय मात्र नभई जीवनलाई संघर्ष गर्न सिकाउने महत्वपूर्ण माध्यम रहेको बताए । विद्यार्थी जीवनमै खेलभावना विकास हुन सके भविष्यमा सक्षम, आत्मविश्वासी र अनुशासित नागरिक तयार हुने उनको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीले विद्यालय शिक्षासँगै खेलकुदलाई समान प्राथमिकता दिइएको स्पष्ट पार्दै सगरमाथा स्कुल विद्यार्थीहरूको सर्वाङ्गीण विकासप्रति सदैव प्रतिबद्ध रहेको बताए । उनले भने,“पढाइसँगै खेलकुद अनिवार्य छ। स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क बस्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। स्पोर्ट मिटले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य र अनुशासनको विकास गराउनेछ।”


कार्यक्रममा विद्यालयका एकाडेमिक हेड तिलक डाँगीले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थी जीवनमा सकारात्मक सोच र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उद्घाटन सत्रको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक मार्च पासले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। विद्यार्थीहरूको अनुशासन र एकताले उपस्थित अतिथिहरू तथा अभिभावकहरूलाई अत्यन्त प्रभावित बनाएको देखिन्थ्यो।

कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेका थिए । विद्यालयले स्पोर्ट मिट २०८२ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने जानकारी दिएको छ।