महोत्सवमा स्थानीय उत्पादनको ब्यापार

तुलसीपुर ,१६ पुस ।
दाङ तुलसीपुर ५ निवासी रेश्मी वलीले तुलसीपुर महोत्सवबाट फलामबाट बनेका हसिँया किनिन् । बाहिरी देशबाट आएका हसिया भन्दा यही क्षेत्रका ब्यबसायीले उत्पादन गरेको हसिया राम्रो पनि हुने भएकाले उनले त्यहीबाट हसिया किनिन् । त्यस्तै तुलसीपुर १० गोलौराकी रमिता चौधरीले पनि महोत्स्वमा राखिएका स्टलबाट टिमुरको अचार किनिन् । “टिमुरको अचार अहिलेसम्म खाएकी थिइँन”,उनले भनिन्“यो अचार कस्तो हुन्छ, भनेर लिएँकी हुँ ।”
उनीहरु मात्रै होईन्, अहिले स्थानीय उत्पादनमा धेरैको आकर्षण बढ्ने गरेको छ ।

तुलसीपुर महोत्सवमा बाहिर जसरी लण्डनव्रिजले आकर्षक बनाएको छ, भित्र प्रवेश गर्दा झनै आकर्षण थप्छन्– स्थानीय उत्पादनका स्टलले । गेट प्रवेश गरेपछि देखिने स्थानीय उत्पादन नै महोत्सवका गहना हुन् । तिनै गहनाले सार्थक बनाउछ–कृषि महोत्सवको नारा ।
जहाँ अग्र्यानिक खानेकुरादेखि स्थानीय स्तरमा निर्माण गरेका उत्पादनहरुले भरिभराउ छन् । स्टलहरुमा ओखर, जिम्बु, रातो र कालो सिमीको दाल, स्याउका चाना, फापरको पिठो, भाँङो, चिनो, मार्सी चामल देखिन्छन् ।

स्थानीय स्तरमा बनाएका डललगायत बिभिन्न जनावरका खेलौनाहरु, फलामबाट बनेका हसिया, कोदालो, तरवार, खुकुरी, बञ्चरो, चुलेसी, खुर्पा, फरुवा,तावा,,जस्ता बस्तुहरु पनि महोत्सवमा राखिएको छ ।
यसरी स्थानीय स्तरमा उत्पादन तथा निर्माण भएका बस्तुहरु किन्न ग्राहकहरु पनि आकर्षित हुने गरेका छन् ।
त्यति मात्रै होईन्, काँक्राको अचार,करेलाको अचार,खुर्सानी, टिमुर,सिस्नो,किबि, मकै,माछालगायतका अचारले ग्राहकको मुख नै रसाउछ ।“मेलामा अचार पनि रहेछ, घुम्दै जाँदा अचार देखेँ”,तुलसीपुर ६ निवासी कल्पना श्रेष्ठले भनिन्“राम्रो देखेपछि किनेर पनि लगेँ ।”


त्यस्तै महोसवमा बाँस,थाकललगायतबाट बनेका झोला, कपलगायतका सामग्रीले पनि उत्तिकै आकर्षण थप्ने गरेको छ । महोत्सवमा ५० बढि स्थानीय उत्पादनका स्टलहरु रहेका छन् । ति स्टलहरुको भाडा लगिएको छैन ।“स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नकालागि हामीले निःशुल्क रुपमा स्टल उपलब्ध गराएका छौं”, महोत्सव आयोजक समितिका संयोजक लालबहादुर केसीले भने “त्यसले महोत्सवलाई थप आकर्षक बनाएको छ । घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा तुलसीपुरमा महोत्सव लागेको हो । घरेलु तथा साना उद्योग महासंघ भनेको साना ब्यबसायीहरुलाई प्रबद्र्धन गर्ने संस्था भएकाले पनि यस्तो कार्य गरिएको हो । अध्यक्ष केसीका अनुसार महोत्सवमा आउने अतिथिहरुलाई पनि मायाको चिनोका रुपमा सिस्नोको धुलो, मकैको पिठो, टिमुरको पिठो, अकबरे खुर्सानीजस्ता कुराहरु दिने गरिएको छ । त्यस्तै हस्तकलाका सामग्रीहरु पनि दिने गरिएको अध्यक्ष केसीले बताए । कृषकलाई प्रोत्साहन गर्नकालागि यस्तो कार्य गरिएको हो ।

लण्डनव्रिज र जलपरिले आकर्षण
तुलसीपुर महोत्सवमा लण्डनव्रिज राखिएको छ । जसमा चढ्नकालागि पनि दर्शकहरु पुग्ने गर्छन् । गेट भन्दा बाहिरै राखिएकाले धेरैको आकर्षणको केन्द्र बन्ने गरेको छ । त्यस्तै महोत्सव भित्र जलपरी ल्याईएको छ । यी दुबै पहिलो पटक तुलसीपुर ल्याईएको हो । जसले महोत्सवलाई थप आकर्षित बनाउने गरेको छ ।