
तुलसीपुर, १० मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा माध्यामिक विद्यालय निजि विद्यालय हो । सोही विद्यालयले तुलसीपुरकै विकट क्षेत्रमा रहेको विद्यालयका रुपमा रहेको मावि प्रतापकोटसंग भगिनी सम्बन्ध कायम गरेर सहयोग गरिरहेको छ । उपमहानगर–पालिकाको विकट क्षेत्रका रुपमा रहेको मावि प्रतापकोटमा भौतिक संरचनादेखि पठन–पाठनमा समेत सहयोग गर्दै आएको छ ।
केही समय अघि मावि प्रतापकोटको भवन रंगरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलै–धुलोमा बस्न बाध्य थिए । डेस्क,बेन्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अबस्थामा छैनन् । यी सबै समस्या गोरखा मावि तुलसीपुरले समाधान गरिदियो । विद्यालय रंगीचंगी छ । कोठामा म्याट, डेस्क, बेन्च नयाँ छन् । त्यति मात्रै होईन्, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ ।
विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकूदका सामग्री पनि सहयोग गर्दै आएको छ, भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाकलगायत सहयाग गर्दै आएको गोरखा ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले बताए ।
त्यस्तै विगतमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, खेलकूद सामग्री, विद्यार्थीहरुकालागि राउन्ड टेवल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरेको छ । यस वर्ष पछि एउटा स्पिकर सहयोग गर्नुकासाथै सोही विद्यालयका विद्यार्थीहरुलाई तीन दिने कथा लेखन कार्यशालाका लागि प्रशिक्षकलगायतका खर्च समेत ब्यहोरेको छ । अहिले त्यहाँका विद्यार्थी सहजै कथा लेख्न सक्ने भएका छन् । त्यति मात्रै होईन्, मावि प्रातापकोटबाट एसइइ पास गरेका दुई जना विद्यार्थीलाई कक्षा ११ मा निःशुल्क पढाइरहेको समेत केसीले बताए । त्यस्तै एक जना विद्यार्थी कक्षा १२ मा पनि निःशुल्क पढिरहेका छन् । यसरी नै न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निःशुल्क पढाउने गरेको उनको भनाई छ।
निजि विद्यालयसंगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको व्यबस्थापन समिति अध्यक्ष लिलामणी बाँठाले बताए ।“२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ”,उनले भने “त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ ।” आवश्यक पर्ने डेस्क, बेन्च, प्राजेक्टर, म्याट मात्रै होईन्, विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीहरुमा आकर्षण थपेको उनको भनाई छ ।
मावि प्रतापकोट विकट भएपनि पर्यटकीय हिसाबले भने उत्तम छ । प्रत्येक वर्ष गोरखाका विद्यार्थीहरु त्यहाँ पैदल पुग्ने गरेका छन् । बजारबाट पैदल हिडेर तीन घण्टामा पुगिन्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ११ मंसिर २०८२, बुधबार ११:४५ बजे