गाउँमै आँखाको जाँच गर्न पाउँदा….

तुलसीपुर, ८ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरिपौरीकी ५३ बर्षीया रस्मिता दाहालले यस अघि आँखा जाँच गरेकी थिईनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ । स्वास्थ्यकर्मीले तत्काल अप्रेशन गर्ने सुझाब दिएको उनले भनिन् । “पहिले कहिल्यै चेक गरेकी थिइँन”,उनले भनिन् “अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, अप्रेशन गर्ने भन्नुभएको छ ।”

त्यस्तै तुलसीपुर १२ कै ८२ बर्षीय चेनाथ पोख्रेलको पनि आँखामा मोतिविन्दू भएको रहेछ । त्यो कुरा आईतबार भएको शिवरमा जाँच गराउँदा मात्रै थाहा भयो । अब प्रत्येक ६/६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाब दिएको उनले बताए । “पहिले पनि आँखामा औषधी त हाल्थेँ, आँखा चिलाउथ्यो, आशु आउथ्यो”,उनले भने “तर, अहिले मोतिविन्दू नै भइसके छ ।” आईतबार तुलसीपुर १२ हरिपौरी स्थित वडा कार्यालयमा भएको शिविरमा उनीहरु जस्तै दुईसय ४७ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोग तथा तुलसीपुर उपमहानगर–पालिका वडा नं.१२ को आयोजनामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो ।


यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गन सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरि उपचार गर्नकालागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।

शिविरबाट ४० जनामा मोतिविन्दू देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ, भने त्यो बाहेक अन्य अप्रशन गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।