
दिपक बोहरा
दाङ, २६ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित तुईसोताले त्यहाँका बासिन्दालाई बर्षेनी पिरोल्छ । फुलवारीको बराखुट्टी जाँदासम्म ९ पटक तर्नुपर्छ, तर, पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । जसले गर्दा गाडीहरू पनि आवतजावतमा निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन स्थानमा झोलुंगे पुल भएपनि अन्य स्थानमा अझै पनि पुल निर्माण हुने गरेको छैन ।
बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुंगे पुल छ, त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छ, भने अमुवापुरमा गरि तीन वटा झोलुंगे पुल छन् । ति झोलुंगे पुलबाट आवतजावतमा केही सजह भएपनि अन्य ६ वटा स्थानमा झोलुंगे पुल पनि छैनन् । ति स्थानमा झोलुंगे पुल समेत नहुँदा वर्षादको समय निकै समस्या हुने उनको भनाई छ । “हामीले त्यही खोला ९ ठाउँमा तर्नु पर्छ”,उनले भने “तीन ठाउँमा पुल बनेकाले सहज भएपनि अन्य ठाउँमा एकदमै गाह्रो छ ।”
गिधनियामा बन्न थालेको पुल पनि ७ वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्यो भन्दा अगाडी बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरू आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताए । “बन्न लागेका पुलहरु पनि बिचमै अलपत्र छन्”,उनले भने “यसरी त हामी निकै मारमा परेका छौं ।”
हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणकालागि प्रक्रिया अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाले त्यसकालागि ५० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणकालागि सोही स्थानमा सर्वे समेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार सोही पुल आउदो जेठसम्म सक्ने गरि तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढि गाउँलाई सहज हुने उनको भनाई छ । मजघटुवा, रनियापुर, बराखुट्टी,सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २७ कार्तिक २०८२, बुधबार १८:३५ बजे