एनआईएमवि तुलसीपुरको खाताबाट पैसा हराएपछि…..

दीपक बोहरा
दाङ, १८ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा स्थित छवि भण्डारीको सामाजिक सुरक्षा भत्ता आउने खातामा एक्कासी पैसा काटेको म्यासेज आयो । भाइटिकाको भोलिपल्ट कात्तिक ७ गते दिउसो ३ बजेतिर म्यासेज आएपछि उनी झस्किए । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक(एनआईएमवि) बैंकमा रहेको उनको खाताबाट १८ हजार दश रुपैँया काट्यो । न त उनले मोवाईल बैंकिङबाट कही पैसा पठाएका थिए, न त चेक नै काटेका थिए । तर, एक्कासी पैसा काटेपछि उनले बैंकमा फोन गरे । बैंकको फोन उठेन । बैंकको फोन नउठेपछि ग्राहक सुरक्षा केन्द्रमा फोन गरे । त्यहाँ फोन गर्दा फोनमा केही पनि भन्न नमिल्ने भनेपछि बैंक खुलेपछि ९ कात्तिकमा बैंकमै पुगे ।“मैले कस्टमर केयर सेन्टरमा फोन गरेँ”,उनले भने“तर त्यहाँबाट केही भन्न मिल्दैन, भनेपछि ९ गते बैंकमा पुगेँ ।”


बैंकले उनको खाताको रकम प्रभु बैंकमा खाता रहेका दोलखाका उत्सव फुयालको खातामा रकम ट्रान्सफर भएको पाईएको थियो । जो की ति ब्यक्तीसंग भण्डारीको कुनै सम्बन्ध, सम्पर्क थिएन । उनले आफ्नो खातामा पैसा राखेर पनि एटिएम मार्फत पैसा निकालिसकेको पाईएको थियो । त्यसपछि उनको खाता रोक्का गर्नकालागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिए । सोही अनुसार प्रहरीले प्रभु बैंकलाई चिठि लेखिदियो । प्रहरीले चिठी लेखेपछि खाता रोक्का भएको छ । तर, उनको रकम भने अझै पनि फिर्ता आएको छैन । उनको अपाङ्गता भएको सामाजिक सुरक्षा भत्ता सोही बैैकको खातामा आउने गर्छ । उपमहानरपालिकाले बिभिन्न बैंकमा सामाजिक सुरक्षा भत्ताको खाता खोलिदिएको छ। बैंकका तुलसीपुर शाखा प्रबन्धक शरद अधिकारीले भने ओटीपीको माध्यामबाट वा मोवाईलमा अन्य लिंक खोल्दा यसरी पैसा हराउने समस्या हुने गरेको बताए । पछिल्लो समय सोही बैंकबाट यसरी पैसा हराउने गरेको छ । अन्य सेवाग्राहीहरुले पनि पैसा हराएको भनि गुनासो गर्ने गरेको प्रबन्धक अधिकारीले बताए । साभारः अग्रिम साप्ताहिक