
दाङ, १८ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ देविस्थान स्थित जम्मुचिरा ड्याममा डुंगा सञ्चालनमा ल्याईएको छ । वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार सिंचाईकालागि निर्माण गरिएको उक्त ड्याममा डुंगा सञ्चालनमा ल्याईएको हो । स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्नुकासाथै पर्यटन प्रबद्र्धनकालागि उक्त डुंगा सञ्चालनमा ल्याईएको वडाध्यक्ष सापकोटाले बताए । “खासगरि यो ड्याम सिंचाईकालागि निर्माण गरिएको हो”,उनले भने “तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुंगा पनि सञ्चालनमा ल्याएका छौं ।” यसले स्थानीय युवाहरुलाई स्वरोजगार बनाएको उनको भनाई छ । नजिकै मनकामना मन्दिर पनि रहेकाले मन्दिर दर्शन गर्न आउनेहरुले डुंगा पनि सयर गर्न पाउने उनको भनाई छ । “नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरुले अब डुंगा पनि सयर गर्न पाउछन्”,उनले भने “त्यसले आन्तरिक वा बाह्य पर्यटकहरुलाई झनै आकर्षण गराउनेछ ।” तुलसीपुर उपमहानगरपालिकाले उक्त डुंगा उपलब्ध गराएको हो ।
साथै त्यहाँ चालिस हजार माछाका भुराहरु समेत राखिएको छ । विभिन्न प्रजातिका माछाका भुराहरु राखिएको भन्दै त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउनेछ । खासगरि त्यहाँको बाँझो रहेको जग्गालाई सिंचाई गर्नकलागि बृहत दाङ उपत्यका सिंचाई आयोजनाले ड्याम बनाएको हो । ड्याम नहुँदा त्यहाँको खेतियोग्य जग्गा बाँझै थियो । तर, अब त्यहाँ किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्ने गरेको स्थानीय प्रमोद कडेँलले बताए । “ड्याम नहुँदा सिंचाईमा निकै समस्या थियो”,उनले भने “ड्याममा पानी जम्मा हुन्छ, त्यसले बर्षैसाल सिंचाईमा सहयोग पु¥याईरहेको छ ।” त्यहाँको एक हजार बढि जग्गालाई सिंचाई गरेको वडाध्यक्ष सापकोटाले बताए । जसबाट तीन हजार बढि किसानहरु लाभाम्बित भएका छन् । त्यहाँ विगतमा सानो पानीको मुहान थियो । त्यही मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पना अनुसार नै निर्माण भएको वडाध्यक्ष सापकोटाले बताए । यसले पर्यावरणलाई पनि टेवा पु¥याएको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १९ कार्तिक २०८२, मंगलवार ०९:५१ बजे