
दाङ, ८ कात्तिक । दाङमा दशैं–तिहारको बीचमा विभिन्न स्थानहरूमा प्रहरीले दैनिक रूपमा जुवातास खेल्नेहरूलाई पक्राउ गर्न थालेको छ । कानूनी रूपमा जुवा खेल्न बन्देज लगाइएको भए पनि दशै–तिहारको समयमा जुवा तास खेल्ने प्रवृति बढिरहेको छ ।
यसपालिको दशैँ–तिहारको अवधिमा दाङ प्रहरीले जुवा खेल्ने ७१ जनालाई पक्राउ गरेको छ । दशैं–तिहारको बीचमा प्रहरीले दाङका विभिन्न स्थानमा ७१ जना जुवाडेलार्ई पक्राउ गरेको हो ।
अन्य समयको तुलनामा दशै र तिहार पर्वको समयमा जुवाडेहरु सक्रिय हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाङको तुलसीपुर, घोराही र राप्ती गाँउपालिका लगाएतका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । गत असोज ३० गतेदेखि हालसम्म ७१ जना जुवाडे पक्राउ परेका छन् ।
जसमा सबैभन्दा धेरै घोराही क्षेत्रबाट ४२ जना, तुलसीपुरबाट १६ जना, र राप्ती गाउँपालिकाबाट १३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना रोल्पाका रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १० लाख ८७ हजार ४ सय ९० रुपैंया नगद समेत बरामद गरेको जनाएको छ । बरामद रकममध्ये घोराही क्षेत्रबाट ८ लाख १५ हजार ९४० रुपैयाँ, तुलसीपुरबाट १ लाख ४९ हजार ७५५ रुपैयाँ, र राप्ती गाउँपालिकाबाट १ लाख २१ हजार ७९५ रुपैयाँ फेला परेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो । तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । तर पनि जुवा खेल्ने प्रवृति अझै पनि कायम रहेको छ ।



लाइभदाङ । ९ कार्तिक २०८२, शनिबार ११:१५ बजे