
दाङ, ७ कात्तिक । दाङमा मापसे गरेर छोराको बञ्चरो प्रहारबाट आमा–बुवा घाइते भएका छन् । दाङ दंगीशरण गाउँपालिका–५ देबिगन्जका २५ वर्षका बीरबहादुर ओलिले मापसे गरि आफ्नो आमा–बुवालाई बन्चरो प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
बिहिबार राति करिब ९ बजेतिर ओलीले मापसे गरी आफ्नी आमा ५५ वर्षीया कुमारी ओली र बुबा ६५ वर्षीय बेदबहादुर ओलीमाथि घरमै बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
दुबै जनाको टाउकोमा चोट लागेको र दुवैको अवस्था मध्यम रहेकाले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । घाइते दम्पतीलाई उपचारपछि आज दिउँसो ४बजेतिर अस्पतालले डिस्चार्ज गरेको खत्रीले जानकारी दिनुभयो ।
बञ्चरो प्रहार गर्ने बीरबहादुरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ८ कार्तिक २०८२, शुक्रबार २०:२५ बजे