दाङमा पाँच तोला सुनसहित दुईजना पक्राउ

दाङ
२६ पुस / दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुद रिजालका अनुसार राप्ती गाउँपालिका–१ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको हो ।


उनीहरुको साथबाट सुनको बाला ५ थान, मंगलसुत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका १ निवासी अन्दाजी १८ बर्षीय वशन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षिय खेमराज चौधरी रहेकोे प्रहरीले बताएको छ । खत्री र चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।