
तुलसीपुर, ९ असोज । तुलसीपुर कारागारबाट भागेका चार जना कैदी बन्दी पुनः पक्राउ पछि कारागार चलान गरिएका छन् ।
पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ७ का कुन्जन थापा (आगुऔषध मुद्दा), घोराही उपमहानगरपालिका – २ का मुकेश बिक (करणी मुद्दा), लमही नगरपालिका – ८ का मोतिलाल चौधरी (कर्तब्य ज्यान मुद्दा) र सोही ठाउँका ओमप्रकाश घर्ती (चोरी मुद्दाका) छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले लमहीका दुई जनालाई मंगलबार र बाँकी दुई जनालाई बिहीबार पक्राउ पछि तुलसीपुर कारागारमा बुझाइएको बताए ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारको दुइवटा ब्लकका कुल दुई सय ५३ कैदी भागेका थिए । ती मध्य एक सय ४६ जना पुनः पक्राउ परेका छन् ।
अझैं एक सय सात जना कैदी फरार छन । ती मध्य आठ जना भारतिय नागरिक पनि रहेको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
कुल १२ जना भारतिय नागरिकले सजाय भुक्तान गरि रहेको भएपनि चार जना भने उक्त दिन भागेका थिएनन् ।
यो बीचमा पुनः पक्राउ परेका मध्य १५ जना दाङ भन्दा बाहिर बिभिन्न जिल्लाहरुमा पक्राउ परेका हुँदा तत्कालका लागि सम्बन्धित जिल्ला कारागारहरुमै राखिएको जेलर सेजुवालले जानकारी दिए ।
तुलसीपुर कारागारमा कुल चार सय ७९ कैदी बन्दी थिए । दुई जना महिला बन्दी भने हालसालै सजाय भुक्तान गरि निस्किएका थिए ।



लाइभदाङ । ९ आश्विन २०८२, बिहीबार २०:२७ बजे