
काठमाडौँ,१९ भदौ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली आज काठमाडौं आइपुगेका छन । चार्टर विमानमार्फत ल्याइएका तीमध्ये दुई जना महिला पनि छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै अध्यागमन कार्यालयले उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो । ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार हाल ती व्यक्तिहरूसँग आवश्यक सोधपुछ भइरहेको छ ।
यसअघि चार्टर विमानबाटै ३७ जनालाई बुधबार ल्याउने तयारी भए पनि प्राविधिक कारण देखाउँदै १८ जनालाई पछि मात्र पठाउने अमेरिकी पक्षले जनाएको छ । सन् २०२५ जनवरी २२ यता मात्रै अमेरिकाले २ सय ३४ जना नेपालीलाई निस्कासन गरिसकेको छ ।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा राष्ट्रपति बनेपछि अवैध आप्रवासीविरुद्धको नीति कडाइ गरिँदै आएको छ, जसअन्तर्गत नेपालसहित विभिन्न मुलुकका नागरिकलाई धमाधम डिपोर्ट गरिँदैछ।



लाइभदाङ । १९ भाद्र २०८२, बिहीबार २२:४१ बजे