नेपाल शिक्षक महासंघद्वारा शिक्षा विकास तथा समन्वय इकाइ दाङमा धर्ना

प्रिया स्मृती गजमेर
लमही, १५ भदौ ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइ घोराहीमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय समितिको आह्वानमा आयोजित कार्यक्रम अन्तर्गत दुई घण्टा धर्ना दिइएको थियो । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पास गरी भदौ ५ गते प्रतिनिधि सभामा पेस गरेपछि महासंघले आपत्ति जनाएको हो ।

महासंघले विगतमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौताहरू विद्यालय शिक्षा विधेयकमा समावेश नगरिएको भन्दै ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूमा धर्ना र ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको हो ।


दाङको धर्नामा विभिन्न सातवटा महासंघसँग आबद्ध संस्थाका केन्द्र, प्रदेश र स्थानीय तहका शिक्षकहरू प्रतिनिधिमूलक रूपमा सहभागी थिए।

कार्यक्रम नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह-अध्यक्ष लिलाधर विकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उपमहासचिव शुसिला सुबेदी प्रमुख आतिथ्यतामा उपस्थित रहनुभएको थियो भने सहजीकरण महासंघका सहसचिव गिरिराज शर्माले गर्नुभएको थियो ।