स्वास्थ्य क्षेत्रमा मेडिकलहरुको भूमिका महत्त्वपूर्ण : नगरप्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, १५ भदौ ।
लमहीमा देउपुर मेडिकल औपचारिक रूपमा संचालनमा आएको छ । मेडिकलको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नु भएको हो ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्यका क्षेत्रमा मेडिकलहरुको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनु भयो । नगर क्षेत्रमा नयाँ स्वास्थ्य संस्था स्थापना हुनु सुखद पक्ष भएको बताउदै उहाँले देउपुर मेडिकलले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै नगरको समग्र स्वास्थ्य र विकासमा यस मेडिकलको महत्वपूर्ण योगदान रहने पनि उहाँको भनाइ छ ।

त्यसैगरी लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्याम नारायण चौधरीले लामो समय देशका विभिन्न स्वास्थ्य संस्थामा रही जनताको सेवा गरेका राष्ट्रसेवक कर्मचारी अवकाशपछि पनि पुनः जनसेवामा लागिपरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

अवकाशपछि पनि समाज र जनताको सेवामा निरन्तर सक्रिय रहनु प्रेरणादायी भएको बताउँदै स्थानीय समुदायले यस्तो योगदानको कदर गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

लमही नगरपालिका वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष गणेशमान चौधरीले आज आइतबारदेखि सञ्चालनमा आएको देउपुर मेडिकलले जनभावना अनुसार सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

चौधरीले स्थानीय सरकारसँगको समन्वयमार्फत नगरबासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सुझाव दिनु भएको छ । मेडिकल सञ्चालनले स्थानीयस्तरमै स्वास्थ्य उपचार सुविधा प्राप्त गर्न सहजता हुने उल्लेख गर्दै सेवा गुणस्तर र उपलब्धतामा निरन्तर सुधार आवश्यक रहेको निवर्तमान वडा अध्यक्ष चौधरीको भनाई छ ।


स्वास्थ्य क्षेत्रबाट अवकाश भएका चौधरी पुनः स्वास्थ्य कर्ममा फर्किए 

लमही नगरपालिका–६ देउपुर निवासी रुप नारायण चौधरी पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । तीस वर्षको कार्यकाल पश्चात् उहाँ जागिरे जीवनबाट बिदा हुनु भएको हो । सिनियर अ. हे. व. बाट अवकाश भएर उहाँले लमहीमा ‘देउपुर मेडिकल’ संचालनमा ल्याउनु भएको छ ।

लमही स्थित राष्ट्रिय वाणिज्य बैंकदेखि दक्षिण तर्फ रहेको यो मेडिकलले दक्ष जनशक्ति सहित ल्याब सहितको सेवा सुरु गरेको हो । नेपाल सरकारको स्वास्थ्य संस्थामा निरन्तर ३० वर्ष जनताको सेवा गरेका चौधरीले २०८० श्रावण १ गते स्वैच्छिक अवकास हुनु भएको हो । उहाँको सुरुको नियुक्त रोल्पा नुवा गाउँको स्वास्थ्य चौकीमा भएको थियो । त्यहाँ ३ वर्ष रहेर सेवा प्रदान गर्नु भयो ।

त्यस्तै प्युठानको जुम्री काँडा उपस्वास्थ्य चौकीमा १ वर्ष, दाङको राजपुर स्वास्थ्य चौकीमा ३ वर्ष, लमही प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्ष, सतबरिया स्वास्थ्य चौकीमा ३ वर्ष, बेला स्वास्थ्य चौकीमा ३ वर्ष, लालमटिया स्वास्थ्य चौकीमा ६ महिना, लमही प्राथमिक स्वास्थ्य केन्द्र लमही अस्पताल भएपछि त्यहाँ ६ वर्ष रहेर सेवा प्रदान गर्नु भएको हो ।

त्यस पछी समायोजन रोजेर गढवा स्वास्थ्य चौकी पुगेका जानू भएको र त्यहीबाट चौधरी अवकाश हुनु भएको हो । जीवनको आधा उमेर जनताको औषधि उपचारमै बिताएका चौधरीले सरकारी जागिरे पछि पनि यहि पेसालाई निरन्तर दिन आवश्यक ठानेको उहाँको भनाई छ । ‘स्वास्थ्य नै जीवन’ हो भन्ने भनाईलाई अंगिकार गर्दै आफू यहि कर्ममा खुशी रहेको बताउनु भयो । निकट भविष्यमै डाक्टर सहितको सेवा प्रदान गर्ने योजना रहेको उहाँको भनाई छ ।