रोल्पामा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते

रोल्पा, २८ साउन ।
रोल्पामा आज दिउँसो फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको गाडी बुधबार दिउँसो २ बजेतिर माडी गाउँपालिका–२ ब्याङखोला स्थित सहिदमार्गमा करिब २५/३० मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घाइते हुनेमा इलाका प्रहरी कार्यालय घर्तिगाउँमा कार्यरत प्रहरी जवान कमलेश यादव, माडी गाउँपालिका–३ का ३१ वर्षीय भिमसेन रोका, माडी गाउँपालिका–१ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी गाउँपालिका–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, ६० वर्षीया कौशिला वली र परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोकामगरको अवस्था गम्भीर छ । उनीहरूको उपचार रोल्पा अस्पताल रेउघामा भइरहेको छ ।


अन्य घाइतेमा माडी गाउँपालिका–३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, १४ वर्षीया पुर्णकला बिक, १७ वर्षीया शर्मिला बिक, १८ वर्षीया एलिशा घर्तिमगर, १७ वर्षीय मनोज बिक, १४ वर्षीय नबिन बिक, माडी गाउँपालिका–५ भावाङका २० वर्षीय बिबेक घर्तिमगर रहेका छन् । उनीहरूको घर्तिगाउँस्थित स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी चालक रोल्पा नगरपालिका–७ दाङवाङका २७ वर्षीय होम नारायण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा चालकसहित १४ जना सवार रहेका थिए ।