दाङमा मोबाइल चोरी गर्ने दुई जना पक्राउ

दाङ, २१ साउन।
दाङको घोराहीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट तिलागुफा–१ घर भई हाल घोराही उपमहानगरपालिका–१५ सिद्धार्थ टोलमा बस्ने २७ वर्षीय जगत शाही र जुम्ला हिमा गाउँपालिका–६ घर भई हाल घोराही–१५ शिवशक्ति टोलमा बस्ने २९ वर्षीय दिपक अधिकारी रहेका छन्।

उनीहरूले घोराही उपमहानगरपालिका–१४ सिद्धार्थ टोलमा डेरा गरी बस्ने गीता न्यौपानेको कोठाबाट भिभो कम्पनीको V2303 मोडेलको कालो रङको करिब ५६ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल चोरी गरेको आरोप लागेको छ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार, पक्राउ परेका व्यक्तिहरूले आफूहरू नेपाल प्रहरीका असई भएको भन्दै धम्कीसमेत दिएका थिए। सोधपुछका क्रममा दिपक अधिकारीले मोबाइलमा नेपाल प्रहरीको पोशाकमा असईको फुली लगाएको तस्बिरसमेत देखाएको खुलेको छ।

प्रहरीले उनीहरूको डेराबाट चोरी गरिएको मोबाइल बरामद गरेको छ। हाल दुवै जनामाथि दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।