
तुलसीपुर, ३० फागुन ।
तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथि मनबहादुर खड्काले आजको शिक्षालाई प्रभावकारी बनाउन विद्यालय मात्र नभई अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए । उनले भने “बच्चाको भविष्य निर्माण गर्ने जिम्मेवारी विद्यालय र अभिभावक दुवैको साझा दायित्व हो। घरमा अभिभावकले दिने समय, माया र अनुशासनले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पार्छ।”
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एमकान्त खरेलले अभिभावक शिक्षा कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त बताए । उनले भने , “विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच निरन्तर संवाद र सहकार्य आवश्यक छ।” यसैगरी ग्लोबल सर्टिफिकेसनका आईएसओ प्रमुख सूर्य केसीले गुणस्तरीय शिक्षा दिनका लागि विद्यालयले निरन्तर सुधार र नविन अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै अभिभावक र विद्यालयबीच सहकार्य बढाउन यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले भने “विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र होइन, नैतिकता, अनुशासन र जीवन सीप सिकाउन अभिभावकको साथ अत्यन्त आवश्यक हुन्छ।”
विद्यालयका सहायक प्रधानाध्यापक केशर बुढाथोकीले एक बालकले आफ्नी आमालाई लेखेको मार्मिक चिठी वाचन गरे । उक्त चिठीले कार्यक्रममा सहभागी अभिभावकहरूलाई निकै भावुक बनाएको थियो।
कार्यक्रममा म्युजिक गुरु राजेन्द्र दाहालको शब्द तथा संगीतमा विद्यार्थीहरूले प्रस्तुत गरेको गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयका एकेडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाँले गरेका थिए ।
कार्यक्रमको मुख्य प्रशिक्षक रवि किरण रहेका थिए । प्रशिक्षणका क्रममा अभिभावकलाई बालबालिकाको मनोविज्ञान, अभिभावकको जिम्मेवारी तथा घरको वातावरणले बालबालिकाको भविष्यमा पार्ने प्रभावका विषयमा महत्वपूर्ण सुझाव दिइएको थियो।
कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले आफूहरूलाई बालबालिकाको पालनपोषण र शिक्षाबारे नयाँ दृष्टिकोण दिएको बताएका थिए।



लाइभदाङ । ३० फाल्गुन २०८२, शनिबार २३:१६ बजे