अफिसर्स क्लब तुलसीपुरद्वारा कार्यालय प्रमुखहरूको स्वागत तथा वृक्षारोपण

तुलसीपुर, २३ असार ।
तुलसीपुर क्षेत्रमा रहेका विभिन्न कार्यालयका प्रमुख तथा अधिकृतहरूलाई अफिसर्स क्लब तुलसीपुरले एक विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरेको छ।

क्लबका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लम्सालले अफिसर्स क्लबलाई कर्मचारीहरूबीच एकता, हार्दिकता र पारस्परिक अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण लुज फोरमको रूपमा उल्लेख गर्नुभयो।

उहाँले कार्यका क्रममा उत्पन्न हुने मानसिक दबाबलाई आपसी समन्वय र सहयोगबाट कम गर्न क्लब उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। साथै, राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि आवश्यक भएको बताउँदै क्लबको भूमिकालाई महत्वपूर्ण रहेको टीपणि गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पर्धेले कार्यालयहरूबीच समन्वय बलियो भए सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिन सकिने बताउनुभयो। उहाँले अफिसर्स क्लबलाई अनुभव आदानप्रदान र सहकार्य अभिवृद्धिको उत्कृष्ट मञ्चको रूपमा समेत प्रशंसा गर्नुभयो।


कार्यक्रममा श्री १९ बाहिनी अड्डाका प्रमुख सेनानी रूपकजंग थापा, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङकी प्रमुख तुलमाया लोवा, लोकसेवा आयोग दाङका प्रमुख राजकुमार अधिकारी, उच्च सरकारी वकिल कार्यालयका उच्च न्यायाधिवक्ता नगेन्द्र लम्साल, नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख सुरेशकुमार महतो, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्री लगायतका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

त्यसैगरी स्वास्थ्य अधिकृत चित्रबहादुर ओली, खुमप्रसाद न्यौपाने, जीवन खड्का, गोविन्द पार्दे, ईश्वरी प्रसाद चालिसे, डम्बर बिष्ट लगायतकालाई पनि स्वागत तथा सम्मान गरिएको हो। क्लबका संरक्षक प्रमुख जिल्ला अधिकारी लम्साल र अध्यक्ष रजौरेले सबैलाई फूलमाला र खादाले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य आन्तरिक राजस्व कार्यालयका कर अधिकृत तथा संस्थाका सचिव उपेन्द्र बहादुर पुनले राख्नुभएको थियो भने सञ्चालन क्लबका महासचिव तथा स्वास्थ्य अधिकृत बसन्तकुमार आचार्यले गर्नुभएको थियो।

वि.सं. २०५४ सालमा स्थापना भएको अफिसर्स क्लबले निरन्तर रूपमा सरकारी कर्मचारी र समाजबीच सेतुको काम गर्दै विभिन्न रचनात्मक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ। यसै अवसरमा क्लबले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ।