एक लाख बढि ब्यबसायीलाई कालो सूचिमा राख्ने सरकारका तयारी छः पराजुली

दाङ, २३ असार । नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिब खेम नारायण पराजुलीले सरकारले एक लाख बढि उद्योगी ब्यबसायीहरुलाई कालो सूचिमा राख्ने तयारी गरेको बताएका छन् ।

महासंघ तुलसीपुर शाखाले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यो असार पछि एक लाख बढि ब्यबसायीलाई कालोसूचिमा राख्ने तयारी गरेको बताए । “सरकारले एक लाख भन्दा बढि उद्योग ब्यबसायिहरुलाई कालो सूचिमा राख्ने तयारी गरेको छ”,उनले भने“नेपालमा १८ लाख ब्यबसायी छौं, ति मध्ये १८ जना बराबर एक जनालाई कालोसूचिमा राख्ने तयारी गरिरहेको छ ।”

यो सरकारले थालेको निकै गलत कार्य रहेको उनले बताए । कुनै पनि मुलुकमा नभएको कुरा नेपालमा लागु हुन थालेको भन्दै यसले ब्यबसायीहरुलाई निकै पीडा दिने उनको भनाई छ । “यो जति पिडा कुनै पनि मुलुकमा छैन । राज्य निकम्मा बनेर बसिरहेको छ, समाधान गर्ने क्षमता पनि राख्दैन । कानमा तेल हालेर बसेको छ ”,उनले भने“यसकालागि हामीले चरणबद्ध आन्दोलन गर्नुपर्ने मनस्थितिमा हामी पुगेका छौं ।”

साथै हालै सुन ब्यबसायीहरु आन्दोलित भइरहेको भन्दै यो विरोधमा महासंघले एक्यबद्धता जनाएको बताए । सुन ब्यबसायीहरुको मर्कामा सबै भन्दा पहिले आफूहरु नै बोलेको समेत उनले बताए । अहिले सरकारले ल्याएको नीतिमा २०÷२५ जना सुन तस्कर, ठूला सुन ब्यबसायीहरुलाई फाइदा नै गरेको भएपनि साना तथा मझौला सुन ब्यबसायीहरुलाई निकै असर गरिरहेको बताए । २ प्रतिशत बिलासी कर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लगाउने विषय निकै गलत रहेको कुरा आफूहरुले बजेटकै दिन भनेको समेत उनले बताए ।


साथै उनले कर प्रणालीलाई प्रबिधिमैत्री बनाउनुपर्ने बताए । साथै पटक–पटक दोहोरो करको मारमा पर्नुपर्ने अबस्था रहेको भन्दै यसको अन्त्य हुनपर्ने उनको भनाई थियो । कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिबालय सदस्य प्रेमराज वली(प्रभात), महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी, जिल्ला अध्यक्ष डिल्ली बहादुर वली, संगठनका प्रेस सल्लाहकार दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

संगठनका तुलसीपुर नगर अध्यक्ष वेदप्रसाद वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।