वर्षौदेखिको सपना थियो ‘पुल’ 

दाङ, २१ असार ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवाका आशिष डाँगीलाई विगतमा बाढीले गर्दा वर्षादमा तुलसीपुर आउन निकै समस्या पर्थ्यो । मोटरसाईकल चालक डाँगीलाई वर्षाद आयो की खोलाले छेक्थ्यो । तुलसीपुर केही काम परेपनि डराई डराई जानु पर्थ्यो । बाढी आउँदा त झन केही समय खोलामै जागराम बस्नु पर्थ्यो ।

त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटीका अमृत विकलाई पनि तुलसीपुर आवतजावत गर्दा वर्षादमा सधै खोलाले छेक्थ्यो । तर, अब त्यो समस्या टरेर गरेको छ । वर्षादको समयमा बर्षौदेखि सास्ती खेप्दै आएका त्यहाँका नागरिकलाई अहिले निकै सहज बनेको छ । अब बाढी आए पनि आवात जावत गर्न समस्या छैन । सहजै आवत जावत गर्न सकिने उनले बताए । “विगतमा बाढी आउँदा छेकिनु पर्ने अवस्था थियो”, उनले भने “अब बाढी आउँदा पनि छेकिनु पर्ने अवस्था छैन ।”

तुलसीपुरदेखि शान्तिनगरको बाघमारे हुँदै बबई गाउँपालिकाको पञ्चकुले जोड्ने सडक बीचमा दुई वटा पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को भमके खोला  र शान्तिनगर गाउँपालिका वडा नं.३ को बौलाह खोलामा पुल निर्माण भएको छ ।


लुम्बिनी प्रदेश सरकारको ४ करोड २५ लाख २७ हजार लागतमा दुई वटा पुल बनेका हुन् । चालु आर्थिक वर्षमा ति पुल निर्माण पूरा भएको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताए । दुई वटै पुल शारदा श्री निर्माण सेवा प्रालिले पाएको थियो । ती दुई वटै पुल सञ्चालनमा आएका छन् । यस अघि वर्षादमा उक्त सडकमा आवत जावतमा निकै कठीनाई थियो ।

त्यो सडकमा पर्ने तीन वटा खोला मध्ये दुई वटा खोलामा पुल निर्माण भइसकेको र अब एउटा खोलामा पुल निर्माण हुन बाँकी छ । शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित पातेटाकुरा खोलामा पुल निर्माण पूरा भएपछि थप सहज हुनेछ । सोही खोलामा पनि हाल पुल निर्माणको काम भइरहेको छ । उक्त सडक पश्चिम दाङ जोड्ने पुरानो सडक हो । दाङ–सुर्खेत सडक नखुल्दासम्म पश्चिम दाङलाई जोड्ने सडकका रुपमा सोही सडक रहेको थियो । तर, पुल नहुँदा सोही सडकमा आवत जावतमा समस्या हुँदै आएको थियो । साभारः अग्रिम साप्ताहिक