दुग्ध चिस्यान केन्द्र अनुदान हिनामिना आरोपमा आठबिसकोटका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

akhtiyar

काठमाडौं, २१ साउन ।
दुग्ध चिस्यान केन्द्र निर्माणका लागि प्राप्त सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका बहालवाला नगरप्रमुखसहित ११ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार चिस्यान केन्द्र निर्माणका लागि कर्णाली प्रदेश सरकार र आठबिसकोट नगरपालिकाबाट दुई चरणमा प्राप्त १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ अनुदान दुरुपयोग गरिएको हो।

मुद्दामा आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवी केसी मुख्य प्रतिवादी छन्। उनीसँगै प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध जनही ८० लाख २३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

यस्तै, तत्कालीन पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत तथा निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन र कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसी विरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो माग गरिएको छ।


त्यसैगरी आठबिसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेल विरुद्ध दुवै चरणको अनुदान जोडेर १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारका अनुसार कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ विपरीत योग्यतै नपुगेको सहकारीलाई छनोट गरी निर्माण ठेक्काको मूल्यांकनमा बदनियतपूर्ण ढंगले अनियमितता गरिएको थियो।

आरोपपत्रमा चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म सञ्चालनमा नआए पनि त्यसको जानकारी हुँदाहुँदै नगरपालिकाले थप ८० लाख २३ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको उल्लेख छ। उक्त रकमबाट खरिद गरिएका मिल्क ट्यांकर र दुई वटा सिंगल क्याब गाडीसमेत प्रयोगविहीन अवस्थामा रहेको अख्तियारको दाबी छ।

निर्णय प्रक्रियामा संलग्न जनप्रतिनिधि, कर्मचारी तथा सहकारीका पदाधिकारीको मिलेमतोमा सरकारी अनुदान दुरुपयोग भएको निष्कर्षसहित अख्तियारले सबै ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।